१८ सय यातायात मजदुरसहित बाँकेका ७३ हजारले लगाए कोरोना विरुद्धको खोप

बाँके, १४ साउन ।


बाँकेको कोहलपुर र नेपालगन्जका झण्डै दुई हजार यातायात मजदुरले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् । यातायात ब्यवसायीका लागि पछिल्लो पटक ७ र ८ असारमा संचालन गरिएको खोप अभियानमा एक हजार आठ सय चार जना यातायात मजदुरले कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
उनले अहिलेसम्म ६२ बर्षभन्दा माथिका जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, स्वास्थ्य स्वयमसेविका, संचारकर्मी, शिक्षक, यातायात मजदुर लगायतले कोरोना विरुद्धको खोप लगाएको बताए । उनले विभिन्न अभियान गरि हालसम्म बाँकेका ७३ हजार एक सय ७० जनाले कोरोना विरुद्धको खोप लगाएको बताए ।
पछिल्लो पटक ३३ हजार ६ सय दुई जनाले कोरोना विरुद्धको भेरोसेलको पहिलो डोज लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत शर्माले बताए । ‘पहिलो र दोस्रो चरणको खोप अभियान भन्दा पछिल्लो पटकको खोप अभियानमा सेवा लिनेको संख्या अत्यधिक छ,’ उनले भने ।
बाँकेका ६५ बर्ष माथिका २० हजार आठ सय ७३ जनाले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो डोज लगाएका छन् । दोस्रो डोजका लागि खोप नआउँदा ति उमेर समुहका सेवाग्राही मर्कामा परेका छन् । ‘अवको २०–२५ दिनभित्र कोभिशिल्ड खोप आउँछ भन्ने छ, तर निश्चित छैन,’ खोप अधिकृत शर्माले भने ।
त्यसैगरि, यहाँका १० हजार एक सय ६७ जनाले भेरोसेलको दुवै मात्रा लगाएका छन् । भने, आठ हजार पाँच सय २८ जनाले पहिलो मात्रा मात्र लगाएको शर्माले बताए । बाँकेमा पछिल्लो पटक ३, ४ तथा ५ असारमा चार र १०, ११ र १२ गते चार स्थानीय तहमा कोरोना विरुद्धका भेरोसेल खोप लगाइएको थियो ।
यहाँ झण्डै चार लाख नागरिक बसोबास गर्छन् । जनसंख्याको आधारमा खोप लगाउनेका संख्या एकदमै कम छ । ‘जनसंख्याको आधारमा खोप आएको भए लगाउन सहज हुने थियो,’ उनले भने ।

Previous articleसात बर्षमा बाँके निकुञ्जका ३५८ बन्यजन्तुको सवारी दुर्घटनामा मृत्यु
Next articleलुम्बिनी प्रदेशका कृषि मन्त्रीसहित तीन मन्त्रीको गुम्यो सांसद पद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here