बाँके, ६ साउन, २०७८ ।
नेपालको विभिन्न भागमा बसोबास गर्ने इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) धुमधामका साथ मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक परम्परा अनुसार इस्लाम धर्मावलम्बीले आज बकर ईद मनाउन लागेका हुन् ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिना अर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको इस्लाम धर्म गुरु मौलाना जब्बार मञ्जरीले बताए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरि नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गरि शुभकामना आदान प्रदान गर्दछन् ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको उनले बताए । ‘अल्लाहको आदेश इब्राहिमलाई तिम्रो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माइल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको मानिन्छ,’ उनले भने ।
ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको इस्लाम धर्मग्रन्थमा उल्लेख छ । ‘मक्कामा जन्मिनुभएका सलल्लाह ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ,’ उनले भने ।
यस पर्वमा अल्लालाई खुशी पार्न इस्लाम धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसै कारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीले बताए ।
निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नुपर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको मान्यता छ । उनले धेरै जनावर कुर्बानी गरे, तर अल्लाह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।