बाँके, १ साउन, २०७८ ।
बाँकेको सुदूर पूर्वमा रहेको नरैनापुर गाउँपालिमा औलोको उच्च जोखिम कायमै रहेको छ । एक बर्षको अवधिमा ३४ जनामा औलो पुष्टि भएपछि उक्त गाउँपालिका उच्च जोखिममा रहेको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक रत्नलाल शर्माले बताए ।
नरैनापुर गाउँपालिका वडा नं. २ कालाफाँटामा मात्र ३२ जना औलो रोगका विरामी फेला परेको बताउँदै उनले परीक्षणमा नआएकामा पनि औलो हुन सक्ने बताए । अस्पताल र उपचारका लागि स्वास्थ्य चौकीमा आएकामा औलो पुष्टि भएपछि खोजपड्ताल गर्दा एकै गाउँका ३२ जनामा औलो पुष्टि भएको उनले बताए । आर्थिक बर्ष ०७६–०७७ मा नरैनापुरका ५४ जनामा औलो पुष्टि भएको थियो । ‘आव ०७६–०७७ को तुलनामा केहि कम देखिएको मात्र हो,’ उनले भने ।
नरैनापुरका अधिकांश नेपाली भारतमा आउजाउ गर्ने भएकोले उतैबाट औलो लिएर आएको उनको भनाई छ । औलो रोगका फेला परेका विरामी मध्ये ८३ प्रतिशत भारतबाट आएका विरामी भएको शर्माले बताए । ‘नेपालमा औलो रोग नियन्त्रणको चरणमा भए पनि भारतमा आउजाउ गर्ने परिपाटीले नियन्त्रणमा समस्या देखिएको छ,’ उनले भने ।
सरकारले सन् २०२५ सम्म नेपालबाट औलो उन्मुलन गर्ने नीति लिएको छ । तर, खुल्ला सीमाका कारण औलो उन्मुलनमा समस्या देखिएको विज्ञको भनाई छ । बाँकेको कोहलपुरमा दुई, बैजनाथमा तीन, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा एक–एक गरि बाँकेका ४१ जनामा औलो पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरि, आव ०७७–०७८ मा बाँकेका पाँच जनामा डेंगु रोग फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सफल मोटर्स पार्टसमा कार्यरत मजदुर र ग्राहकमा डेंगु रोग देखिएको शर्माले बताए ।