बुढो भएको धानको वियाड बाक्लो गरि रोप्न कृषकलाई कृषि विज्ञको सुझाव

बाँके, ३० असार, २०७८ ।


समयमा पानी नपरेका कारण बाँकेमा धान उत्पादन घट्न सक्ने कृषि विज्ञले औँल्याएका छन् । समयमा बर्षात नभएका कारण कृषकले समयमा धान रोप्न, रोपेको धानले गाँज हाल्न नपाएको र रोपाइँका लागि राखेको वियाड बुढो भइसकेकोले यस बर्ष धान उत्पादनमा कमी आउने सम्भावना बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताए । ‘समयमा पानी नपरेकोले रोपेको धानमा झार उम्रिएको छ । बुढा वियाड लगाउँदा गाँज हाल्न सकिराखेको छैन,’ ढकालले भने, ‘समयमा पानी नपरेकोले यस बर्ष धान बाली उत्पादनमा कमी आउने निश्चित छ ।’
उनले बुढो वियाड भए बाक्लो गरि रोप्न कृषकलाई सुझाव दिएका छन् । बुढो भएको वियाड बाक्लो गरि रोपे केहि हदसम्म उत्पादन बढाउन सकिने उनले तर्क गरे । ‘बुढो भएको वियाड रोप्ने हो भने त्यसले राम्रोसँग गाँज हाल्दैन र बढ्न पनि सक्दैन । यस्तो अवस्थामा बाक्लो गरि रोपेको खण्डमा केहि हदसम्म उत्पादन बढाउन सकिन्छ,’ उनले कृषकलाई सुझाव दिए ।
समयमा बर्षात नहुँदा बाँकेमा धान रोपाइँमा ढिलाई भएको छ । अहिलेसम्म झण्डै ८५ प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताए ।
१५ असार पछि बर्षात नभएकोले धान रोपाइँमा ढिलाई भएको उनले बताए । सिँचाइ सुविधा भएका ठाउँमा धान रोपाइँ सकिए पनि आकेश पानीको भरमा रहेका ठाउँका किसानले धान रोप्न नपाएको उनको भनाई छ । ‘१५ असारसम्म भएको धान रोपाइँको अवस्थालाई हेर्दा असारमै रोपाइँ सकिन्छ भन्ने लागेको थियो, तर समयमा बर्षात नहुँदा साउनको दोस्रो सातासम्म लम्बिने सम्भावना बढेको छ,’ उनले भने ।
बर्षात नहुँदा रोपेको धान पनि सुक्न थालेको छ । खाल्डो र तलाउमा जम्मा भएको पानीले रोपाइँ तथा सिँचाई गरे पनि अन्य ठाउँमा रोपेका खेतका गरा फाटेको बताए । ‘पहिले रोपेका धान पानी नपाएर गाज हाल्नुको साटो सुक्दै गएको छ,’ उनले भने ।

Previous articleग्राहक नपाएपछि नेपालगन्जका ४० होटल बन्द, भारतबाट आउनेलाई होल्डिङ सेन्टरमा नराख्न माग
Next articleनरैनापुर गाउँपालिकामा औलोको उच्च जोखिम कायमै, एकै गाउँका ३२ सहित ३४ जनामा औलो पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here