भाडा तिर्न नसकेपछि भेरी अस्पतालको बरण्डा बन्यो मिर्गौला पीडित राजु परियारको बासस्थान

बाँके, १८ असार ।


डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ बर्षिय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो बासस्थान बनाएका छन् । झण्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् । उनी एक्लै त्यहाँ बस्दैनन् उनको साथमा आमा मखमली र १४ बर्षिया बहिनी पनि साथमै बस्छन् । ‘बर्दियाबाट डायलासिसका लागि आउजाउ गर्न आर्थिक समस्या भएपछि भेरी अस्पतालको च्यानल गेटलाई डेराको रुपमा प्रयोग गर्न बाध्य भयौँ,’ मखमलीले भनिन् ।
उनीसँग भएको ५ कट्ठा जमिन पनि बैंकमा छ । उपचारका लागि साहु र इष्टमित्र सँग लिएको रकम बुझाउन बैंकबाट पाँच लाख रुपैँया लिएको उनको भनाई छ । बैंकको ऋण तिर्न उनका पति कतार पुगेका छन् । उहाँ (पति) ले पठाएको रुपैँया बैंकको साँवा र ब्याज बुझाउन ठिक्क हुन्छ । छोराको उपचार गर्न र छोराछोरीलाई खानलाउन के ले दिने हो,’ उनले भनिन् ।
नेपालगन्ज बस्न थालेपछि खान, बस्न झनै समस्या भएको उनले बताइन् । केहि समयसम्म भेरी अस्पतालले विरामीलाई प्रदान गर्ने खाना खाए पनि सधैँ खाँदा असजिलो महशुस भएको उनले बताइन् । मागेर खान लाज लागेपछि भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोईमा सहयोगीको रुपमा काम गर्न थालेको उनको भनाई छ । दिनभर काम गरे बापत अञ्जनी माता रसोईले उनलाई दैनिक पाँच सय रुपैँया पारिश्रमिक दिने गरेको छ । ‘छोराको उपचारको क्रममा भएभरको सम्पत्ती सकिएपछि हामीसँग अस्पतालमा शरण लिनुको विकल्प भएन,’ उनले भनिन् ।
भेरी अस्पतालले राजुको डायलासिस निशुल्क गर्दै आएको छ, तर आर्थिक अभावका कारण उनले औषधि लगायत पोषिलो खाने कुरा खान पाएका छैनन् । पोषिलो खानाको कुरा परको भयो चिकित्सकले सिफारिस गरेको औषधि समेत नपाएको राजुले बताए । मिर्गौलाका विरामीले नियमित रुपमा प्रयोग गर्ने औषधि किन्न नसकेर स्वास्थ्य अवस्था दिनदिनै विग्रदै गएको छ,’ उनले भने ।
सरकारले दिएको सुविधा अनुसार राजुले डायलासिस सेवा निशुल्क पाए पनि नियमित रुपमा सेवन गर्ने औषधि किन्न नसकेर उनको स्वास्थ्य दिनदिनै विग्रदै गएको भेरी अस्पताल डायलासिस विभाग इन्चार्ज डा. पारस श्रेष्ठले बताए । औषधि नपाएर उनको पेटमा भरिएको पानी फाल्न नसकिएको उनले स्पष्ट पारे ।
पानी निकाल्ने औषधि र सामग्री खरिद गर्ने पैँसा छैन
राजुको पेटमा पानी भरिएर जिउ भन्दा ठूलो भएको छ । पानी भरिएर उनलाई हर्निया भएको छ । नाइटो फुत्त बाहिर निस्केको छ । ‘पेटमा पानी भरिएपछि नाइटोसम्म आयो,’ भेरी अस्पतालको ग्यालरीमा सुतिरहेका राजुले आफ्नो पेट देखाउँदै भने, ‘डाक्टर पारस श्रेष्ठले इमरजेन्सी वार्डमा पेटको पानी तान्ने भन्नु भएको छ, तर पानी फाल्नका लागि चाहिने औषधि र सामग्री किन्ने पैँसा नभएर रोकिएको छ ।’
घरमा ताला, आर्थिक अवस्था दिनदिनै विग्रदो
छोराको उपचारमा उनकी आमा दिनरात खटिन्छिन् । स्याहार सुसार गर्छिन् । छोराका उपचार र स्याहार सुसारमा समय दिनु पर्ने भएपछि घर ब्यवहार लथालिङ्ग भएको राजुकी आमा मखमलीले बताइन् । ‘छोराको पढाई विग्रियो । अधिकांश समय उपचार र स्याहार सुसारमा खटिनु पर्छ । घरमा समय दिन नसकेपछि ताला लगाएका छौँ । उपचारमा लागेकै कारण गरिवी माथि गरिवी थपिएको छ,’ गहभरि आँशु पार्दै उनले भनिन् ।
राजुको आमाबाबुले मिर्गौला प्रत्यारोपनको प्रयास नगरेका होइनन् । तर रकम नभएकै कारण आँट गर्न सकेका छैनन् । रकम नहुँदा मिर्गौला प्रत्यारोपण गर्ने प्रक्रिया समेत अगाडी बढाउन नसकिएको मखमलीले बताइन् । छोरालाई आफ्नो मिर्गौला दिन तयार भए पनि प्रत्यारोपण अघि गर्नुपर्ने प्रक्रिया नै गर्न नसकिएको उनले गुनासो गरिन् । ‘मिर्गौला प्रत्यारोपण गरेर छोराको आयू लम्ब्याउने ठूलो इच्छा छ, तर प्रत्यारोपण अघि गर्नुपर्ने जाँच लगायतका प्रक्रिया पूरा गर्न हामीसँग सय रुपैँया पनि छैन,’ छोराको ज्यान जोगाई दिन हारगुहार गर्दै उनले भनिन्, ‘छोराको दुवै मिर्गौला फेल भएदेखि मेरो जिवन अध्याँरो भयो । मेरो लागि यो संसारमा कोहि छैनन् जस्तो लाग्छ । सहयोग गर्नेहरु समेत टाढिएपछि एक्लो महशुस हुन्छ ।’
छोराको उपचार खर्च जुटाउन बाबु विदेशिय
छोराको उपचार खर्च जुटाउन राजुका बाबु विदेशियका छन् । उनी अहिले बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् । दुई बर्षअघि उनी कतार गएको मखमलीले बताइन् । पतिले पठाएको रकमले जसोतसो गरि बैंक र साहु, महाजनको ऋण तिर्न ठिक्क हुने गरेको उनले सुनाइन् । ‘ऋण गरेर कामका लागि विदेश जानु भएको हो । कमाएर पठाएको सवै बैंक र साहुको ऋण तिर्न पुग्दैन । छोराको उपचार र खानपिन केले गर्ने हो,’ उनले भनिन् ।

Previous articleएकल पुरुष र विदुरलाई मासिक भत्ता दिने बैजनाथ गाउँपालिकाको निर्णय
Next articleशब व्यवस्थापनका लागि युनिक नेपालको सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here