बाँके, १४ असार, २०७८ ।
भेरी अस्पतालमा पोष्ट कोभिडका विरामी आउने क्रम बढेको छ । यहाँ दैनिक ५–६ जना पोष्ट कोभिडका विरामी उपचारका लागि आउने गरेको अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।
नेपालगन्जका मेडिकलमा पनि पोष्ट कोभिडका विरामी आउने गरेका छन् । कोरोना संक्रमितलाई देखिन सवै समस्या पोष्ट कोभिडका विरामीमा पनि देखिने गरेको डा. पाण्डेले बताए ।
उनले कोरोना निको भएर घर गएका एक जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बताए । आइसियूमा उपचाररत पोष्ट कोभिड विरामीको मृत्यु भएको उनले स्पष्ट पारे । ‘कोरोना संक्रमण पछि फोक्सोमा भएको दाग नमेटिएका कारण संक्रमण पुनः बल्झिने गरेको छ,’ उनले भने, ‘लक्षण सवै कोरोनाको जस्तो भए पनि पोष्ट कोभिडका विरामीबाट अर्को ब्यक्तिमा सर्दैन । कोरोना जाँच गर्दा रिपोर्ट पनि नेगेटिभ आउँछ ।’
पोष्ट कोभिडका विरामीलाई पनि स्वास प्रस्वासमा समस्या आउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । कोरोना फेरि बल्झिएका विरामीलाई पनि अक्सिजन दिनुपर्ने उनको भनाई छ । ‘पोष्ट कोभिडका अधिकांश विरामीलाई अक्सिजन दिएर राखिएको छ,’ उनले भने ।