एक बर्षमा ६०२ फरार अभियुक्त पक्राउ, पाँच करोड ४८ लाख राजस्व संकलन

बाँके, १४ असार, २०७८ ।


जिल्ला प्रहरी कार्यालय बाँकेले एक बर्षमा विभिन्न अपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६ सय दुई जना अभियुक्तलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याएको छ । गत बर्षको असारदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके र मातहतका प्रहरी कार्यालयले विभिन्न अपराधमा संलग्न सात सय २५ जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले एक बर्षको अवधिमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दीमा संलग्न एक हजार एक सय ३५ जनालाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको बताए ।
मोस्ट वान्टेड सूचीमा रहेका अपराधी सहित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका चार सय ७० जना, अदालतमा मुद्दा मुलतवी रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता भई लामो समयदेखि फरार रहेका ८५ जना गरि कुल ६ सय दुई जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपैँया असुल गरेको उनले बताए । ‘अन्य विभिन्न जरिवाना र कारवाहीबाट पाँच करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको छ । एक बर्षको अवधिमा पाँच करोड भन्दा बढीको ढुंगा, बालुवा र गिट्टी सिज गरिएको छ,’ उनले भने ।
अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पनि पक्राउ गरि कारवाहीको दायरामा ल्याएको उनको दावी छ । उनले सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये सात जनालाई पक्राउ गरिएको बताउँदै दुई करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीन जनालाई पक्राउ गरिएको स्पष्ट पारे । उनले भने, ‘आठ वटा अवैध हातहतियारसहित ९ जनालाई पक्राउ गरिएको छ । राष्ट्रिय अनुसन्धानका सूचक प्रविण थापाको हत्यामा संलग्न सात जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाइएको छ,’ एसपी रानाले भने ।
यसैगरि, गत एक बर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, पाँच सय ६० वटा साइकल, २८ वटा ई–रिक्सा, २ बोलेरो भ्यान र तीन ट्रकसहित एक सय ९३ जनालाई पक्राउ गरि दुई करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको उनले जिकिर गरे ।
उनी आउनुभन्दा पहिलेको बर्ष ५२ जना फरार अपराधी पक्राउ परेका थिए । भने, दुई करोड १२ लाख जरिवाना र कारवाहीबाट राजस्व संकलन भएको थियो ।
एसपी रानाले एक बर्षको अवधिमा बाँके प्रहरीले पाँच सय ६८ ग्राम ब्राउनसुगर, ३४ किलो भन्दा बढी अफिम, २० किलो चरेस, ६८ किलो गाँजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित एक सय ८२ जनालाई पक्राउ गरि कारवाही गरिएको उनको दावी छ ।
उनले आफ्नो कार्यकालमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराएको बताउँदै बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको बताए ।
गत बर्ष ५ असारमा बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी रानाको भैरहवा सरुवा भएको छ ।

Previous articleस्वास्थ्य कार्यालयद्वारा नरैनापुर गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्रदान
Next articleबाँकेमा पोष्ट कोभिडका विरामीको संख्या बढ्दै, एक जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here