बाँके, ११ असार, २०७८ ।
राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । उसले ९ औँ गाउँसभा मार्फत पूर्वाधार विकासका लागि ९ करोड ३२ लाख ३७ हजार ४५१ रुपैँया बजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले शिक्षा र स्वास्थ्यको विकासका लागि सात करोड ११ लाख ६६ हजार ९ सय रुपैँया र आर्थिक विकास अन्तरगत कृषि, पशु क्षेत्रको विकासका लागि ८० लाख र विपद ब्यवस्थापन गर्न एक करोड रुपैँया विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
त्यसैगरि, संस्थागत विकास सेवा प्रवाहका लागि १५ लाख बजेट विनियोजन गरेको छ । गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैँया विनियोजन गरिएको उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् ।
गाउँपालिका अध्यक्ष थारुले प्रस्तुत नीति तथा कार्यक्रमले समृद्ध राप्तीसोनारी नारालाई ब्यवहारमा उतार्न विकासका प्राथमिकता र बजेट तर्जुमाको आधारलाई प्रस्तुत गरेको बताए । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्राप्त हुने रचनात्मक सुझावलाई मार्गदर्शनको रुपमा लिई सबैको संयुक्त प्रयास, समन्वय, सहकार्य र अपनत्वबोधबाट राप्ती सोनारीको विकासमा कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रम बिहीबार नै सर्बसम्मत रुपले पारित भइसकेको छ ।
यसैवीच, राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३५१ रुपँैया बराबरको बजेट प्रस्तुत गरेको छ ।
संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी उक्त बजेट प्रस्तुत गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटा वडामा बजेट विनियोजन गरेको छ ।
जस अनुसार वडा नम्बर १ र २ मा २÷२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ ।