बाँके, १० असार, २०७८ ।
खजुरा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषिको आधुनिकीकरण गरि व्यवसायिक कृषि उत्पादन मार्फत बेरोजगारी समस्या समाधान र गरिबी निवारण गर्ने योजना गाउँपालिकाले अघि सारेको छ ।
आर्थिक विकास, राजस्वको स्रोत पहिचान संकलन र परिचालन, सेवा प्रवाह, सुशासन संस्थागत विकास, जनसहभागिता, लैंगिक समानता, समावेशीकरण, वातावरण संरक्षण, विपद व्यवस्थापन, स्थान विशेषको सांस्कृतिक पहिचान, आधुनिक, व्यवस्थित र ग्रीन सिटीको विकास गर्ने कुरामा उक्त गाउँपालिकाले जोड दिएको छ ।
उक्त परियोजना सम्पन्न गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ७५ करोड ९३ लाख ४० हजार रुपैँयाको बजेट ल्याएको छ । डालोमा बजेट बोकेर नवौं गाउँसभामा प्रवेश गरेकी उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान एक करोड ५० लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट आएको दुई करोड ८५ लाख ४४ हजार, विशेष अनुदानको ६० लाख रुपैँयाको बजेट पेश गरिन् ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अध्यक्षता गरेको गाउँसभामा प्राप्त अनुदान र अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैँया विनियोजन गरिएको छ ।
उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान ७५ लाख ८५ हजार राजश्व बाँडफाँड तथा सवारी साधन कर ९२ लाख १३ हजार ५२३, राजश्व बाँडफाँड जग्गा रजिष्ट्रेशन एक करोड ९० लाख, समपुरक एक करोड ५० लाख र आन्तरिक स्रोतबाट आन्तरिक राजश्व १ करोड ७० लाख, आर्थिक वर्ष २०७६÷०७७ बाट बाँकी हुने रकम (अल्या) ५ करोड ९९ लाख ४७७ रहेको उल्लेख गरिन ।