बाँके, ११ असार, २०७८ ।
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ का लागि कुल एक अर्ब १७ करोड ३४ लाखको बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक समेत रहेका कार्यपालिका सदस्य दिलबहादुर परियारले आगामी आर्थिक बर्ष ०७८÷७९ को लागि अनुमानित बजेट पेश गरेका हुन् ।
संयोजक परियारले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार आफुले बजेट पेश गरेको बताए । कोहलपुर नगरपालिकाले पूर्वाधार विकास, समाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद व्यवस्थापन र संस्थागत क्षमता विकास तथा सुशासनलाई प्रथामिकतामा पारेको छ ।
कोहलपुर नगरपालिकाको आगामी बर्षको लागि नगर सभामा प्रस्तुत भएको बजेट र नीति तथा कार्यक्रम प्रति काँग्रेस र माओवादीबाट जितेका उपमेयर लगायत वडा अध्यक्ष एवम् सदस्यले बहिष्कार गरेपछि नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले बजेट पारित गरेको मेयर लुटबहादुर रावतले बताए ।
पारित नीति तथा कार्यक्रम अनुरुप आगामी आर्थिक वर्षका लागि एक अर्ब १७ करोड ३४ लाखको बजेट पारित भएको विधायन समिति संयोजक भिमबहादुर नेपाली बताए । पारित नीति तथा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।
बैजनाथको बजेट साढ ६५ करोड प्रस्ताव
बाँकेका अन्य स्थानीय तह जस्तै बैजनाथ गाउँपालिकाले पनि आगामी आर्थिक बर्षका लागि बजेटसँगै नीति तथा कार्यक्रम ल्याएको छ । उक्त गाउँपालिको आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि ६५ करोड ४३ लाख ९० हजार ९०२ रुपैँयाको बजेट गाउँसभाबाट ल्याएको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले बताए ।
उपाध्यक्ष शारदा रेग्मी विकले आगामी आर्थिक वर्षका लागि गाउँसभामा बजेट पेश गरेकी हुन् । आय तर्फ संघीय सरकारको समानिकरण तर्फ १६ करोड ६१ लाख, प्रदेश सरकार समानिकरणबाट प्राप्त ७९ लाख १२ हजार र संघीय सरकारको सशर्त अनुदानको २६ करोड ७ लाख, संघीय सरकारको सशर्त पुञ्जीगत दुई करोड ५१ लाख, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार तथा संघीय सरकार विशेष अनुदान तर्फको ८४ लाख रुपैँया गाउँसभामा पेश भएको ऐडीले बताए ।
प्रदेश सरकार विशेष अनुदान ६० लाख, संघीय सरकार समपुरक अनुदान ५२ लाख, प्रदेश सरकार समपुरक अनुदान एक करोड ५० लाख रुपैँयाको बजेट पेश भएको उनले बताए ।
बजेट सार्वजनिक गर्दै उपाध्यक्ष विकले चालु आर्थिक वर्ष ०७७÷०७८ मा लिइएको अनुमानित आन्तरिक राजस्वमा ४१ प्रतिशतले बृद्धि भएको उल्लेख गरिन् । चालु आर्थिकमा कुल तीत करोड २५ लाख अनुमानित आन्तरिक राजस्व उठाउने लक्ष्य लिइएको थियो । त्यस मध्ये चार करोड ५८ लाख ६३ हजार ३०६ रुपैँया राजस्व संकलन भएको उनले बताइन् ।
उनले भौतिक पूर्वाधार विकास तर्फ चार करोड ३९ लाख ३५ हजार रुपैँया विनियोजन भएको बताइन् । प्रस्तुत बजेट माथी अषाढ १७ गते ११ बजे पछि दफावार छलफल गर्ने तालिका छ ।