भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई तातो अण्डा खुवाउने अभियान स्थगित

बाँके, १० असार, २०७८ ।


उपचारका लागि भेरी अस्पतालमा आउने कोरोना संक्रमित विरामीको संख्या घटेपछि द्वन्द्व पीडित तथा एकल महिला संजालले भेरी अस्पतालमा संचालन गरेको तातो अण्डा खुवाउने अभियान स्थगित गरेको छ । ४८ दिनअघि भेरी कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको ‘इम्यूनिटी पावर’ बढाउन तातो अण्डा खुवाउने अभियान थालेको संजालले विरामीको संख्या घटेपछि तत्कालका लागि अभियान स्थगित गरेको जनाएको छ ।
संजालले दैनिक दुई सय ५० वटा अण्डा भेरी अस्पताल र नारी विकास केन्द्र आइसोलेशनमा रहेका संक्रमितलाई वितरण गर्दै आएको थियो । ४८ दिनको अवधिमा १२ हजार जना कोरोना संक्रमित, उनीहरुका कुरुवा र स्वास्थ्यकर्मीलाई प्रदान गरिएको संजाल बाँके अध्यक्ष जयन्ती केसीले बताइन् ।
उनले विरामीको चाँप घटेपछि भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तातो अण्डा खुवाएको बताइन् । उनले अभियानका क्रममा आर्थिक तथा नैतिक सहयोग गर्ने ब्यक्ति, संघसंस्थालाई धन्यवाद दिएकी छन् ।
तातो अण्डा अभियान समापनका क्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले तातो अण्डा खुवाएर भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमित विरामीको ज्यान जोगाउन सहयोग गरेको भन्दै संजाललाई धन्यवाद दिए । उनले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको लगनशिलता र इमान्दारिताले कोभिडका विरामीको ज्यान जोगाउन सफल भएको बताए । उनले कोरोनाका बेला भेरी अस्पताललाई विभिन्न दाताले एक करोड भन्दा बढि आर्थिक सहयोग गरेको स्पष्ट पारे ।


कार्यक्रममा भेरी अस्पतालकी नर्सिङ प्रशासक (मेट्रोन) दुर्गालक्ष्मी श्रेष्ठले एकल महिलाले आफ्नो ज्यान जोखिममा राखेर विरामीलाई तातो अण्डा खुवाएको बताइन् । ‘भेरी अस्पतालको एकल प्रयासले कोरोना परास्त गर्न सकिने अवस्था थिएन । सवैको साथ र सहयोगले हामीले कोरोनालाई परास्त गर्न सफल भएका छौँ,’ उनले भनिन् ।
गैरसरकारी संस्था महासंघ, बाँके अध्यक्ष नमस्कार शाहले कोरोनाको उच्च जोखिमका बाबजुद एकल महिला संजालले भेरी अस्पतालमा उपचाररत कोरोनाका विरामीलाई तातो अण्डा खुवाएर ज्यान जोगाउन मद्दत गरेको बताए ।
मानव अधिकारका महिला एकल महिला संजालकी केन्द्रीय उपाध्यक्ष शोभा विसीले कोरोनाको पीडा आफूहरुले बुझेकोले इम्युनिटी पावर बढाउन तातो अण्डा खुवाउने अभियान संचालनमा ल्याएको बताइन् । ‘कोरोना संक्रमित भएपछि कस्तो हुन्छ भन्ने अनुभव भएकै कारण हामीले यो अभियान थालेका हौँ,’ उनले भनिन् ।
माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइराला, संजालकी सचिव विजया रोकाय लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन उपाध्यक्ष बिन्दा खरेलले गरेकी थिइन ।

Previous articleडुडुवा गाउँपालिकाको बजेट रु. ६९ करोड, कुन–कुन शिर्षकमा भएको छ बजेट विनियोजन ?
Next articleनेपालगन्जको नीति तथा कार्यक्रममा महानगरलाई प्राथमिकता, कस्ता छन् नीति तथा कार्यक्रम ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here