४९ करोड विनियोजन गरेको नरैनापुरको बजेटमा के–के छ ?

बाँके, ९ असार, २०७८ ।

नरैनापुर गाउँपालिकाले ४९ करोड एक लाख ४६ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाको १० औं गाउँसभामा आर्थिक वर्ष २०७८÷०७९ को लागि उक्त बजेट पेश गरेपछि गाउँसभाले पारित गरेको हो ।
संघीय सरकारको समानिकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड दुई लाख, विशेष अनुदानतर्फ एक करोड चार लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानिकरण अनुदान बापत प्राप्त ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदानतर्फ ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदानको एक करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार बराबरको अनुमानित आय गाउँ सभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।


त्यसैगरि, चालूतर्फ ३० करोड ३ लाख ४६ हजार र पुँजिगततर्फ १८ करोड ९८ लाख गरि कुल जम्मा ४९ करोड एक लाख ४६ हजार हुने अनुमान गरिएको उनले बताए ।
गाउँसभाले कृषितर्फ एक करोड ७३ लाख, उद्योगतर्फ २७ लाख र पर्यटनतर्फ एक करोड २० लाख गरि आर्थिक विकासमा जम्मा तीन करोड २० लाख विनियोजन गरेको छ । त्यसैगरि, सामाजिक विकासतर्फ २० करोड १५ लाख रकम विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हुँदा शिक्षा तर्फको बजेट १३ करोड ५६ लाख र स्वास्थ्यतर्फको पाँच करोड ६ लाख रुपैँया विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
गाउँपालिकाले पूर्वाधारतर्फ १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख र सुशासन तथा अन्तर सम्बन्धतर्फ ५ करोड १८ लाख विनियोजन गरेको बस्नेतले जानकारी दिए । कृषिमा १ करोड ३० लाख, पर्यटनमा १ करोड २० लाख, सामाजिक विकासतर्फ २० करोड १५ लाख, शिक्षामा १३ करोड ५६ लाख र स्वास्थ्यमा ५ करोड ६ लाख विनियोजन गरिएको छ । उक्त बजेट तथा कार्यक्रम अन्तर्गत् ’ब्यवसायिक किसान ः नरैनापुरको शान’ अभियान सञ्चालनका लागि कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवं बजारीकरणमा एक लाखसम्मको नगद र वस्तुगत सहयोग गरि सय जना नमूना कृषि ब्यवसायी सृजना गरिने र व्यवसायिक कृषकलाई बार्षिक उत्पादन तथा कारोबारका आधारमा मासिक दुई हजारका दरले कृषकलाई ‘कृषक पेन्सन’ को व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
‘एक रात नरैनापुर होमस्टेमा बसौँ’ कार्यक्रम संचालन गर्न नरैनापुर गाउँपालिकाले व्यक्तिगत र सामुहिक लगानीमा होमस्टे संचालन गर्ने नीति अघि सारेको छ । होमस्टे संचालनका लागि युवा उद्यमीलाई जनही २ लाखसम्मको नगद र वस्तुगत सहयोग गर्ने गरि बजेट विनियोजन गरिएको छ ।
नरैनापुर गाउँपालिकाले ‘छोरी पढाऔँः अगाडि बढाऔँ’ कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १–३ सम्मका छात्रालाई मासिक दुई सय रुपैयाँ छात्रबृत्तिको व्यवस्था गरेको गाउँपालिकाले कक्षा ८–१० सम्म अध्ययन गर्ने सबै छात्रालाई साइकल प्रदान गर्ने नीति अवलम्बन गरेको छ ।
सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, ‘खोजी–खोजी बनाऔं साक्षर’ अभियान संचालन गरि गाउँपालिकाभित्र रहेका साक्षरले निरक्षरलाई साक्षर बनाउन प्रोत्साहित गरिने र एक जना निरक्षरलाई साक्षर गराए बापत् दुई सय रुपैँया प्रोत्साहन स्वरूप उपलब्ध गराउने बजेछ ।
एक जना निरक्षरलाइ साक्षर गराए बापत् २ सय रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराइने
सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ ।
गाउँपालिका भित्रका सबै मूल सडक, सहायक गल्ली एवं कृषि सडकहरु पिसिसी, ग्राभेल र कालोपत्रे गरि हिलो र धुलो मुक्त नरैनापुर निर्माण गरिने भएको छ । त्यसका लागि नरैनापुरका सम्पूर्ण सडकलाई ग्राभेल गर्नका लागि एक करोड विनियोजन गरिनुका साथै ‘सफासुग्घर रोड’ कार्यक्रम संचालन गर्न बजेटमा विनियोजन गरिएको छ ।
गाउँपालिकाबाट प्रदान गरिने हरेक सेवा, सुविधा एवं सहुलियतहरुमा महिला, दलित र अपाङ्गहरुलाई पहिलो प्राथमिकता दिई दलित समुदायका सबै बालबालिकालाई निःशुल्क पोशाक र स्टेशनरीको व्यवस्था गरिने भएको छ । पर्यावरण संरक्षण अन्तर्गत् दाउराको बढ्दो प्रयोगलाई निरुत्साहित गरिने, वनजंगलको विनास नियन्त्रण र गृहणी महिलाको सुस्वास्थ्यको लागि ‘हरेक गृहिणी के भन्छन्ःधुवाँरहित भान्छा’ कार्यक्रमलाई अभियानकै रुपमा संचालन गर्न व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । उक्त अभियानका लागि रकम विनियोजन गरिएको छ ।
स्वास्थ्य तथा सरसफाई अन्तर्गत् ‘एक घर एक शौचालय’ अनिवार्य गर्ने, हरेक टोल र वस्तीमा शिक्षा तथा सरसफाई समिति गठन र परिचालन गर्न बजेट छुट्याइएको छ । शिक्षा तथा सरसफाई कार्डको माध्यम अपनाई गाउँपालिकाले दिने सबै सेवा सुविधाबाट वञ्चित गरी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै शौचालय निर्माण सहयोगका लागि वस्तुगत सहयोग गर्न ५० लाख व्यवस्था गरिएको छ ।
त्यसैगरि, प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र संचालन, सर्पदंश उपचार केन्द्रमार्फत सर्पदंश उपचार तथा आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न बनाउन बजेट सुनिश्चित गरिएको छ ।
बेरोजगार र सीप विहिनहरुका लागि सीपमूलक तालिम र आयआर्जन कार्यक्रम संचालन गर्ने बजेटमा उल्लेख छ । दुई सय ५० जनालाई सय दिन बराबरको रोजगारीको व्यवस्था गर्ने गरि बजेट ल्याइएको बस्नेतले बताए ।

Previous articleलकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका एकल महिलालाई एकल महिला संजालको राहत
Next articleबनेका ऐन, कानुन कार्यान्वयन गर्न एकल महिलाको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here