कोरोना कहरमा पनि कुष्ठरोगीलाई उपचार सेवा दिँदै आइएनएफ साइनिङ अस्पताल

बाँके, ३ असार, २०७८ ।


कोरोनाका कारण देशको जताततै लकडाउन भइरहेको थियो । कोरोनाले उग्ररुप प्रदर्शन गरिरहेको थियो । कोरोनाको त्रासले सर्वसाधारणमा भय र त्रास थियो । एक ठाउँबाट अर्को ठाउँमा जान कल्पना समेत गर्न सकिदैनथ्यो । विरामी ओसार्ने एम्बुलेन्सले समेत विरामी बोक्न मान्ने अवस्था थिएन । त्यहि बेला हुम्ला खार्पुनाथका चुच्चे विकलाई कुष्ठरोगको समस्या बल्झियो । उनी उपचारका लागि सुर्खेतको विभिन्न अस्पताल धाउन थाले । तर कुनै उपाय चलेन । उनी आइएनएफको सहयोगमा बल्लतल्ल नेपालगन्जस्थित साइनिङ अस्पताल आए ।
उनको दाहिने खुट्टाको पैतालामा घाउ छ । पैतालादेखि घुँडासम्मको भाग लाटो भएको छ । उक्त घाउ बेला–बेला बल्झिने गर्छ । ‘पैतालामा घाउ छ । घाउ भए पनि दुख्दैन । धेरै हिड्ने हो भने बढेर ठूलो घाउ भइदिन्छ,’ नेपालगन्जस्थित साइनिङ अस्पतालमा भेटिएका विकले भने ।
रुकुमकी कौशिला जैसी पनि साइनिङ अस्पतालमा उपचाररत छन् । कुष्ठरोगले उनको दुवै खुट्टाका औँलामा क्षति भएको छ । उनले भनिन्, घाउ बढ्दै गएपछि डाक्टरले औँला काटिदिए ।’
उनको खुट्टा पनि लाटो भएका छन् । आगोले पोले वा काँडा विझ्दा खुट्टाले थाहा पाउँदैनन् । त्यसैले त उनको खुट्टामा घाउ भइरहन्छ । बेला–बेला घाउ आइरहन्छ । औषधि उपचार पाइएन भने बाँकी रहेका औँलामा पनि सर्न थाल्छ,’ उनले भनिन् ।
कोरोना कहरमा १५ जना अस्पताल भर्ना
लकडाउनका बेला साइनिङ अस्पतालमा १५ जना कुष्ठरोगीको उपचार भइरहेको छ । ति मध्ये अधिकांश लकडाउनकै बेला अस्पताल आएको साइनिङ अस्पतालका प्रमुख श्याम विकले बताए ।
उनले विशेष सावधानी अपनाएर कुष्ठरोगीको उपचार गरिरहेको बताए । ‘जटिल खालका विरामी उपचारका लागि आए कोरोना जाँच लगायत विभिन्न सावधानी अपनाएर उपचार गर्दै आएका छौँ,’ उनले भने ।
उनले रोगको पहिचानका लागि विभिन्न जिल्लामा खोजपड्ताल कार्यक्रम संचालन गरेको बताए । खोजपड्तालका लागि स्वास्थ्यकर्मी परिचालन गरेको बताउँदै उनले लकडाउनका कारण समस्या भएको बताए । उनले भने, ‘लकडाउनका बेला गाउँ–गाउँ जान नसकिने भएकोले टेलिफोन मार्फत कुष्ठरोगी खोज पड्ताल अभियान संचालन गरेका छौँ,’ उनले भने ।
भेदभाव कायमै, अपहेलित हुने डरले खुल्न मान्दैनन् कष्ठरोगी
अपहेलित हुने डरले हुम्ला र रुकुमका कुष्ठरोगी मात्र नभई सवै ठाउँका कुष्ठरोगी खुल्न मान्दैनन् । हुम्लाका चुच्चे कामीले आफूलाई कुष्ठरोग भएको आमाबाबुलाई समेत जानकारी गराएका छैनन् । कुष्ठरोग भएको जानकारी पत्नी बाहेक कसैलाई थाहा नभएको उनले बताए । ‘कुष्ठरोग भएको थाहा पाएपछि छिछि, दुरदुर गर्ने र घरमा बस्न नदिने चाल पाएपछि पत्नी बाहेक कसैलाई जानकारी दिएको छैन,’ उनले भने ।
रुकुमकी कौशिलालाई कुष्ठरोग लागेको थाहा पाएपछि छिमेकीहरु घरमा आउन छाडेका छन् । पहिले पहिले घरमा आएर खानपिन गर्ने छिमेकीहरु पछिल्लो समय आँगनमा आउन समेत हिच्किचाउने गरेको उनले सुनाइन् । थाहा पाउने वित्तिकै छिमेकीले मलाई हेर्ने नजर फेरियो,’ उनले भनिन् ।
१८ महिनामा १८६ जना फेला
बाँकेमा हरेक तीन–तीन दिनमा एक जना नयाँ कुष्ठरोगी फेला पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले पछिल्लो १८ महिनामा जिल्लामा एक सय ८६ जना कुष्ठरोगीको पहिचान भएको बताए ।
आर्थिक वर्ष ०७६÷७७ मा एक सय ३३ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म ५३ जना रोगीको पहिचान भएको नेपालीले बताए । लुम्बिनी प्रदेशमा कुष्ठरोेगको प्रकोप दर सबैभन्दा बढी छ। अघिल्लो वर्ष २ दशमलव २१ प्रतिशत र चालू आवको ६ महिनामा १ दशमलव ७२ प्रतिशत छ।
हरेक स्थानीय तहका सबै स्वास्थ्य संस्थामै निःशुल्क औषधि पाइन्छ। अङ्गभङ्ग भएका जटिल रोगीको साइनिङ अस्पताल नेपालगन्जमा उपचार हुने गरेको छ। आईएनएफका नेपालगन्ज प्रमुख श्याम विकले गत बर्ष बाँकेका ५९ अनि झण्डै दर्जन जिल्लाका एक सय ४५ जना नयाँ कुष्ठरोगीको उपचार गरिएको बताए । ०६९ सालदेखि अहिलेसम्म अस्पतालले बाँकेका मात्र एक हजार तीन सय ७४ कुष्ठरोगीको उपचार गरेको उनले बताए ।

घना बस्तीमा कुष्ठरोगका विरामी बढी
घना बस्ती भएको ठाउँमा कुष्ठरोगका विरामी बढि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो १८ महिनामा जिल्लामा सबैभन्दा बढी जानकी गाउँपालिकामा फेला परेका छन् । त्यहाँ ४३ जना छन् भने सबैभन्दा कम राप्ती सोनारीमा ६ जना रहेको उनले बताए । नेपालगन्ज उपमहानगरपालिकामा ३६, बैजनाथ गाउँपालिकामा २४, खजुरा गाउँपालिकामा २२, कोहलपुर नगरपालिकामा २०, डुडुवा गाउँपालिकामा १९ र नरैनापुर गाउँपालिकामा १५ जना कुष्ठरोगका विरामी रहेको नेपालीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here