झराली (जनश्रमदान) गरि बर्दिया जोतपुरका स्थानीयले निर्माण गरे ‘बरघर’ रोड

बर्दिया, ३१ जेठ, २०७८ ।


पछिल्लो समय अधिकांश विकास निर्माण योजनाका लागि तीन तहका सरकारले बजेट विनियोजन गर्छन् । साना–साना योजनाका लागि बजेट माग्ने चलन पनि बढेको छ । तर, थारु समुदायमा विद्यमान ‘झराली’ प्रथा अहिले पनि कायमै छ । त्यसैगरि, थारु समुदायको जिउँदो इतिहासको रुपमा रहेको बरघर प्रणाली पनि अहिलेसम्म जिवितै छ । यहि प्रणालीलाई जिवन्त बनाउन राजापुर नगरपालिका वडा नं. २ जोतपुर–ग्वारी सडकको नाम ‘बरघर’ राखिएको छ । सर्वसाधारणले जनश्रमदान (झराली) बाट एक किलोमिटर चार सय मिटर लामो र ८ मिटर चौडा रोड निर्माण गरेको सडकको नाम ‘बरघर’ राखिएको स्थानीय सोमप्रसाद चौधरीले जानकारी दिए ।


गाउँक्षेत्रलाई राजापुर बजारसँग जोड्न, थप बजार विस्तार गर्न, कृषि उत्पादनको ओसार पसार सहज बनाउन र विद्यार्थीलाई आउजाउमा सहज बनाउन बरघर सडक निर्माण गरिएको उनले बताए ।
थारु गाउँमा बरघरले गाउँको राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक कार्यको नेतृत्व गर्दछन् । बरघर गाउँका नेता हुन् । हरेक थारु गाउँमा बरघर हुने गर्दछन् । गाउँमा बेठ बेगारी, कुलापानी गर्ने, पूजापाठ, चाडपर्व मनाउने, अन्तिम संस्कारमा गरिने धार्मिक लगायत सामाजिक कार्यको नेतृत्व बरघर मार्फत नै हुने गरेको उनले बताए । ‘थारु समुदायको पहिचान स्थापित गर्न नवनिर्मित सडकको नाम ‘बरघर’ राखिएको जोतपुरका स्थानीयबासी एवम् बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुले बताए । ‘आफ्नो पहिचान स्थापित गर्न आफैबाट सुरुवात गर्नुपर्छ भन्ने हाम्रो सोँच छ,’ उनले भने ।


जोतपुरका सोमप्रसाद चौधरीले पनि सामाजिक तथा सांस्कृतिक प्रणालीको संरक्षण गर्न ऐतिहासिक परम्परा, समाजमा महत्वपूर्ण योगदान पुर्याएका ब्यक्ति र धरोहरलाई जोडेर सडक, चोक तथा सार्वजनिक स्थलको नाम राख्नुपर्ने बताउँछन् । थारु बाहुल्य क्षेत्रको पहिचानका लागि ऐतिहासिक तथा पुरातात्विक स्थानको नामाकरण पहिचान झल्किने गरि राख्नुपर्ने उनको भनाई छ । ‘थारु समुदायको पहिचानका लागि हामीले बरघर रोड नामाकरण गरेका हौँ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here