जीर्ण भवनमा बस्दै आएका प्रहरीलाई पक्की भवन प्रदान

बाँके, ३० जेठ, २०७८ ।


राप्तीसोनारी गाउँपालिका–६, मेहमानपुरमा निर्माण भएको अस्थायी प्रहरी पोष्ट, फत्तेपुर (ख) को नवनिर्मित प्रहरी कार्यालय भवनको सोमवार उद्घाटन गरिएको छ । भवन उद्घाटनसँगै राप्ती नदी किनारमा रहेको जीर्ण भवनमा रहेको प्रहरी पोष्टले आधुनिक भवन पाएको छ । उक्त भवनको गाउँपालिका अध्यक्ष लाहुराम थारु र बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले संयुक्त रुपमा उद्घाटन गरे ।
भवन उद्घाटन लगत्तै एसपी रानाले उक्त भवन प्रहरी पोष्टलाई हस्तान्तरण गरे । राप्तीसोनारी गाउँपालिकाको आठ लाख रुपँैया र वडा नं. ६ वडापालिकाको आठ लाख रुपैँया गरि १६ लाख तथा जनश्रमदान गरि २७ लाख रुपैँयामा भवन निर्माण पूरा भएको वडाध्यक्ष जनकबहादुर थारुले बताए । राप्तीसोनारी–६, खल्ला टेपरीस्थित नदी किनारमा रहेको सामुदायिक भवनमा बस्दा असुरक्षित महशुस भएपछि प्रहरीका लागि पक्की भवनको लागि पहल गरिएको वडा अध्यक्ष थारुले बताए ।


उद्घाटन कार्यक्रममा एसपी रानाले शान्ति सुरक्षाका लागि खटिने प्रहरी नै भवन नहुँदा अभाव झेल्नु परेको बताए । ‘गाउँपालिकाले प्रहरीका लागि भवन बनाएर शान्ति सुरक्षालाई थप मजबुत बनाउन मद्दत गरेको छ । यसले प्रहरीको मनोबल बढेको छ । प्रहरीलाई शान्ति सुरक्षाका लागि खटिनका लागि सहज भएको छ । यसका लागि गाउँपालिका कार्यालयलाई हार्दिक धन्यवाद दिन्छु,’ उनले भने ।
राप्तीसोनारी गाँउपालिकाका अध्यक्ष लाहुराम थारुले भवन निर्माण पूरा भएपछि प्रहरीलाई खुल्ला आकाशमा बस्नुपर्ने बाध्यता हटेको भन्दै यसले समाजमा अमन चयन र शान्ति सुरक्षामा थप बल पुगेको बताए । उनले प्रहरीले गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणको सुरक्षा गर्ने भएकोले आफूले पनि भवन निर्माणमा जोड दिएको धारणा राखे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतम, अस्थायी प्रहरी पोस्ट फत्तेपुर (ख) का इन्चार्ज प्रहरी सहायक निरीक्षक जङ्गबहादुर एमसी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here