बाँके, २८ जेठ, २०७८ ।
लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका एकल महिलाका लागि अमेरिकामा बस्दै आएका नेपालीले ६० हजार मूल्य बराबरको खाद्यन्न प्रदान गरेका छन् । लकडाउनका कारण जिविका चलाउन समस्या भएका एकल महिलालाई राहत प्रदान गर्न नेपाल प्रहरीका पूर्व डिआइजी धीरु बस्न्यातकी छोरी श्रीरुधी बस्नेतको पहलमा ‘वान स्माल भिलेज कोभिड रिलिफ कमिटी’ ले उक्त खाद्य सामग्री द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेलाई दिएको हो ।
अमेरिकामा बस्ने नेपालीले पठाएको रकमबाट खरिद गरिएको खाद्यन्न बाँकेका एक प्रहरी अधिकारीले द्वन्द्व पीडित तथा एकल महिला संजाल, बाँकेलाई हस्तान्तरण गरेको संजालका अध्यक्ष जयन्ती केसीले बताइन् । उनले प्राप्त खाद्यन्न लकडाउनका कारण समस्यामा परेका एकल महिलालाई प्रदान गरिने बताइन् ।
बस्न्यातको पहलमा प्राप्त खाद्यन्नमा चामल, दाल, तेल, अण्डा र आलु रहेको मानव अधिकारका लागि महिला, एकल महिला संजालका केन्द्रीय उपाध्यक्ष एवम् द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा विसीले जानकारी दिइन् । उनले समस्यामा परेका एकल महिलाको पहिचान गरि बास्तविक पीडितलाई मात्र खाद्यन्न प्रदान गरिने स्पष्ट पारिन् ।
संजालले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई तातो अण्डा खुवाउँदै आएको छ । दैनिक दुई सय ५० अण्डा उपचाररत संक्रमितलाई प्रदान गर्दै आएको संजालका सचिव विजया रोकायले बताइन् । उनले अस्पतालमा संक्रमितको संख्या कम भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अण्डा प्रदान गर्न थालिएको बताइन् ।
लकडाउनले अन्य समुदायभन्दा एकल महिला बढि समस्यामा परेको देखेपछि राहतका लागि पहल गरेको श्रीरुधीले बताइन् । उनले महामारीका बेला आफूले सक्दो सहयोग गर्नु नै मानविय धर्म भएको उनको भनाई छ । ‘आफूसँग भएको कुरा अरुलाई बाड्नु नै मानविय धर्म हो,’ उनले भनिन् ।