बाँकेका सात हजार ६७५ जेष्ठ नागरिकलाई आज भेरोसेल खोप दिइदै

बाँके, २५ जेठ ।


बाँकेका ६२–६५ बर्ष उमेर समुहका सात हजार ६ सय ७५ जना जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप दिइने भएको छ । २६ जेठमा जिल्लाका ८३ खोप केन्द्र मार्फत जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक समेत रहेका कोरोना फोकल पर्सन मानव नेपालीले जानकारी दिए ।
सरकारले ६०–६५ बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई खोप दिने भने पनि खोप अपुग भएपछि पहिलो चरणमा ६२–६५ बर्ष उमेर समुहका जेष्ठ नागरिकलाई चाइनामा उत्पादित भेरोसेल खोप दिन लागेको कोरोना फोकल पर्सन नेपालीले बताए । ‘यस अघि ६०–६४ बर्ष उमेर समुहका १५ हजार बढि जेष्ठ नागरिकलाई खोप दिने योजना थियो,’ उनले भने ।
उनले नेपाल आयल निगम अन्तरगत ट्यांकर चालकलाई पनि खोप दिइने बताए । बाँकेका ४०५ जना ट्यांकर चालकलाई खोप दिन लागिएको उनले बताए । ‘ट्यांकर चालकलाई नेपाल–भारत ओहोर दोहोर गरि राख्नु पर्ने भएकोले उनीहरुलाई पनि भेरोसेल खोप दिइने भएको छ,’ उनले भने ।
खोप लिनेमा नेपालगन्जका सवैभन्दा धेरै
बाँकेका ८ स्थानीय तह मध्ये खोप लिनेमा सवैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका जेष्ठ नागरिक रहेको कोरोना फोकल पर्सन नेपालीले बताए । उनले २३ वटा खोप केन्द्र मार्फत नेपालगन्ज उपमहानगरपालिकाका दुई हजार २५ जनालाई खोप दिइने छ ।
त्यसैगरि, कोहलपुर नगरपालिकाका एक हजार ८०, बैजनाथका ९३५, डुडुवाका ५६८, जानकीका ६५८, र खजुरा गाउँपालिकाका ८७० जना जेष्ठ नागरिकलाई खोप दिने लक्ष रहेको छ । उनका अनुसार, नरैनापुरका ५५८ र राप्तीसोनारी गाउँपालिकाका ९५० जना जेष्ठ नागरिकले पनि खोप पाउने भएका छन् । उनले स्थानीय तहका सवै वडा स्तरिय खोप केन्द्रमार्फत खोप प्रदान गरिने बताए ।
त्यसैगरि, नेपालगन्ज मेडिकल कलेज कोहलपुर र राँझास्थित नेपाल आयल निगमको कार्याललाई पनि खोप केन्द्र तोकिएको छ । ‘आ–आफ्नो वडाको स्वास्थ्य संस्थामा गएर जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लिन सक्ने छन्,’ कोरोना फोकल पर्सन नेपालीले भने ।
नेपालगन्ज उपमहानगरपालिकाले विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप संचालन गरिने जनाएको छ । आफूलाई पायक पर्ने वडास्थित स्वास्थ्य केन्द्रमा गएर खोप लिन उपमहानगरले वडासँग आग्रह गरेको छ । खोप लगाउन आउँदा परिचय खुल्ने कागजात लिएर आउन आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
खोप अभियानमा सहभागी हुन जनस्वास्थ्यको अपील
कोरोना भाइरस विरुद्धको खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउने र कोरोना संक्रमण भए पनि क्षति कम हुने भएकोले खोप अभियानमा सहभागी हुन जिल्ला स्वास्थ्य कार्यालयले सवैसँग आग्रह गरेको छ ।
खोप लगाएकालाई फाइदा गर्ने बताउँदै जनस्वास्थ्यले एक दिन मात्र खोप लगाउने भएकोले आफूलाई पायक पर्ने ठाउँमा गएर सुविधा लिन सूचीत गरेको छ । ‘कोहि नछुटुन, कोहि नदोहोर्यौन भन्ने हाम्रो उद्देश्य हो,’ कोरोना फोकल पर्सन नेपालीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here