बाँके, २१ जेठ ।
भेरी अस्पतालमा १३ जेठ राती भएको घटनाको विरोधमा जारी आन्दोलनले बाटो विराउन थालेको छ । भेरी कोभिड अस्पतालको आइसियू वार्डमा ड्युटीमा रहेका चिकित्सक र स्टाफ नर्सलाई न्याय र आक्रमण तथा तोड्फोड गर्ने समुहलाई कारवाहीको माग गर्दै सुरु भएको आन्दोलन पछिल्लो समय भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धिताल विरुद्ध केन्द्रित भएको छ ।
सात सदस्यीय संघर्ष समितिले २० जेठ विहीरवार जारी गरेको विज्ञप्तीले पनि आन्दोलनले बाटो विराएको स्पष्ट पारेको छ । अध्यक्ष धितालले आन्दोलनरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीको मर्म विपरित सामाजिक संजालमार्फत धारणा सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । ‘संरक्षक जस्तो ब्यक्तिले आफ्नै परिवारका सदस्य माथि विभिन्न लान्छना र धम्की दिनु गैर जिम्मेवारी बाहेक अरु हुन सक्दैन,’ विज्ञप्तीमा भनिएको छ ।
सामाजिक संजालमा अध्यक्षले ब्यक्त गरेको धारणाले आन्दोलनकारीलाई थप आक्रोशित बनाएको संघर्ष समितिका सात जनाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ । सामाकिज संजाल मार्फत अभिब्यक्त धारणाले उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी स्वयम अध्यक्ष धितालले लिनुपर्ने चेतावनी दिइएको छ । ‘आक्रोस माथि आक्रोस थप्ने काम भएको छ । यसबाट उत्पन्न जटिल परिस्थितिको जिम्मेवारी अध्यक्षले नै लिनुपर्ने छ,’ विज्ञप्तीमा उल्लेख छ ।