निशुल्क पिसिआर र उपचारमा छुट गर्न एकल महिला संजालको माग

बाँके, १८ जेठ, ०७८


द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेले निशुल्क पिसिआर र कोरोना संक्रमित एकल महिलाको उपचारमा १०–१५ प्रतिशत छुट गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । संजाल बाँकेले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपिल पत्र बुझाउँदै एक महिलाको निशुल्क पिसिआर परीक्षण र उपचारमा छुटको माग गरेको हो ।
संजाल बाँके अध्यक्ष जयन्ती केसीले विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीबाट अधिकांश एकल महिला पीडित भएको बताउँदै पिसिआर गराउन नसकेर एकल महिलाहरु थप जोखिममा परेको बताइन् । उनले भनिन्, ‘एकल महिलाहरु कोरोनाको उच्च जोखिममा छन्, तर पिसिआर गराउन नसकेर घरमै बस्न बाध्य छन् ।’
मानव अधिकारका लागि महिला, एकल महिला संजालकी उपाध्यक्ष शोभा विसीले कोरोनाको असर महिला र बालबालिकामा परेको बताउँदै राहत र उपचारको ब्यवस्था मिलाई दिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिन् । उनले कयौँ एकल महिलालाई कोरोनासँग मिल्ने लक्षण देखिए पनि पिसिआर जाँच गराउन नसकेर घरमै बस्न बाध्य भएको बताइन् । उच्च जोखिममा रहेको समुदाय नै पिसिआर जाँच गराउनबाट बञ्चित छ । ‘पिसिआर गराउन नसकेकाको निशुल्क जाँच गर्ने ब्यवस्था प्रशासनले मिलाओस्,’ उनले भनिन् ।
अपिल पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गेलालले निशुल्क पिसिआर जाँचका लागि भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापासँग कुरा भइसकेको जानकारी दिए । उनले एकल महिला र अभिभावक नभएका बालबालिकाको निशुल्क पिसिआर गर्न सघाउने प्रतिवद्धता जनाए । कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षादिक्षा र स्वास्थ्य उपचारका लागि पहल गरिने उनको भनाई थियो ।
अपिल पत्र बुझाउन संजाल बाँकेका उपाध्यक्ष बिन्दा खरेल, निवर्तमान कोषाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा सदस्य बसन्ता जोशी लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच, एकल महिला संजालले निशुल्क पिसिआर र उपचारमा छुटको माग गरि भेरी अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय, बाँकेलाई पनि अपिल पत्र बुझाएको अध्यक्ष केसीले जानकारी दिइन् ।
द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेले भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामी र स्वास्थ्यकर्मीलाई तातो अण्डा खुवाउँदै आएको छ । दैनिक दुई सय ५० वटा अण्डा वितरण गर्दै आएको केन्द्रिय उपाध्यक्ष विसीले जानकारी दिइन् । भेरी अस्पतालमा विरामीसँगै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई खुवाउँदै आएका छौँ,’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here