गाडी नपाउँदा भेरी अस्पतालमा डायलासिस गराउँदै आएका सात मिर्गौला पीडितको मृत्यु

भेरी अस्पतालमा डायलासिस गराउँदै आएका मिर्गौला पीडितको स्वास्थ्य अवस्था बुझ्दै डायलासिस विभाग प्रमुख डा. पारस श्रेष्ठ ।

बाँके, १५ जेठ ।


विगत एक बर्षदेखि नियमित रुपमा डायलासिस गराउँदै आएकी राजापुर नगरपालिका–४, संघर्षनगर (मुक्त कमैया बस्ती) की ५५ बर्षिया जगनी थारुको ६ जेठमा मृत्यु भयो । उनी नेपालगन्ज डेरा गरेर बस्ने छोरी कहाँ बसेर नियमित रुपमा भेरी अस्पतालमा मिर्गौलाको डायलासिस गराउँथिन् । दोस्रो लहरको कोरोना सुरु भएपछि उनका छोरी र ज्वाइँलाई कोरोना संक्रमण भयो । त्यसपछि उनलाई नेपालगन्जबाट एक सय किलोमिटर पश्चिम बर्दियाको राजापुर लगियो । त्यहाँ गएपछि उनका परिवारले गाडी रिजर्व गरेर एक पटक नेपालगन्ज ल्याएर मिर्गौलाको डायलासिस गराए । तर, आर्थिक अभावका कारण ल्याउन नसकेपछि डायलासिस गराउन नपाएर उनको राजापुरमै मृत्यु भएको जगनीका छोरी ज्वाइँ रामकिशोर थारुले बताए ।
जगनीलाई पनि कोरोना संक्रमण भएको थियो, तर उनले कोरोना जितेको १६ दिनपछि डायलासिस अभावमा ज्यान गुमाइन् । राजापुर गएपछि रगत बढाउने इन्जेक्सन पनि लगाउन नपाएको उनले बताए । ‘डायलासिस गराउन पाएको भए सासु आमालाई अझैँ बचाउन सकिन्थ्यो । हरेक पटक गाडी रिजर्व गरेर ल्याउन सम्भव भएन । डायलासिस गर्न नपाएर ज्यान गुमाउनु पर्यो,’ उनले भने ।
लकडाउन भएपछि सहज रुपमा गाडी नपाउँदा सल्यान सल्ली बजारका शालिकराम श्रेष्ठले पनि नियमित रुपमा डायलासिस गराउन पाएनन् । तीन पटकसम्म डायलासिस गराउन नपाएपछि उनको २८ बैशाखमा सल्लीबजार स्थित घरमै मृत्यु भयो ।
लकडाउन भएपछि गाडी रिजर्व गरेर एक पटक नेपालगन्ज ल्याएको उनकी पत्नी निता श्रेष्ठले बताइन् । लकडाउनले ब्यापार ब्यवसाय बन्द भएपछि गाडी रिजर्व गर्ने र औषधि किन्ने पैँसा भएन । अन्तिममा डायलासिस गराउन नपाएर उहाँ (पति) को ज्यान गयो,’ उनले भनिन् ।
दोस्रो चरणको कोरोना संक्रमण सुरु भएदेखि भेरी अस्पतालमा नियमित रुपमा डायलासिस गराइरहेका सात जनाको मृत्यु भएको डायलासिस विभाग प्रमुख फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिए । उनले लकडाउनले नेपालगन्जबाट टाढा रहेका विरामीलाई डायलासिस गराउन समस्या भएको बताए । उपचार गराउँदा गराउँदै सवै सम्पत्ती सकिएकाहरु गाडी रिजर्व गरेर आउन सक्ने कुरै भएन । गाडी भाडा नपाएर धेरैले ज्यान गुमाउनु परेको छ,’ उनले भने ।
उनले डायलासिस गराइरहेकालाई कोरोना कहरका बेला पनि नियमित रुपमा सेवा दिँदै आएको बताए । उनले कोरोना संक्रमित बर्दियाका राजु परियार, सुमन श्रेष्ठ र लक्ष्मीदेवी राणालाई नियमित रुपमा डायलासिस सेवा दिएको बताए । कोरोना कहरका बेला नियमित रुपमा डायलासिस गराइरेहकालाई सेवा दिइरहेका छौँ नै आपतकालिन अवस्थामा आएका मिर्गौलाका विरामीलाई पनि सेवा दिँदै आएका छौँ,’ उनले भनिन् ।

Previous articleस्थानीय तहलाई टिपिओ नेपालको स्वास्थ्य सामग्री सहयोग
Next articleसामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि, बाँकेका द्वन्द्वपीडित तथा एकल महिलाद्वारा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here