बाँके, १० जेठ ।
कोरोना संक्रमित विरामीमा ‘ब्ल्याक फङ्गस’ (कालो ढुसी) रोग देखिन थालेको छ । यहाँको नेपालगन्जस्थित भेरी अस्पतालमा ब्ल्याक फङ्गस रोगसँग ठ्याक्कै मिल्ने लक्षण भएका विरामी फेला परेको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालमा फङ्गस रोगसँग मिल्ने लक्षण भएका तीन जना विरामी फेला परेका छन् । भेरी अस्पतालमा भर्ना भएका तीन जना मध्ये दुई जनाको भेरी अस्पतालमा उपचार भइरहेको बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले जानकारी दिए । उनले एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको बताए । ‘ब्ल्याक फङ्गससँग ठ्याक्कै मिल्ने लक्ष्मण भएका विरामी अस्पतालमा भर्ना भएका छन् । ल्याब टेष्ट बिना यहि रोग हो भनेर ठोकुवा गर्न मिल्दैन । तर, ब्ल्याक फङ्गससँग मिल्ने भएकोले सोही रोगमा प्रयोग हुने औषधि र विधि अनुसार औषधि उपचार भइरहेको छ,’ डा. पाण्डेले भने ।
उपचारका लागि भेरी अस्पतालमा आएका सवै विरामी कोरोना संक्रमणबाट मुक्त भएका ब्यक्ति भएको उनले बताए । ‘यो रोग एकदमै कम मानिसमा देखिन्छ, तर अहिले एक हप्तामा तीन जनामा लक्षण देखिएको छ,’ उनले भने ।
के हो ब्ल्याक फङ्गस र लक्ष्मण कस्तो हुन्छ ?
ब्ल्याक फंगस (कालो ढुसी) लाई म्युकोर्मिकोसिस पनि भनिन्छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एकापट्टिको मुख सुन्निने, आँखा सुन्निने, नाकबाट रगत आउने, ओठ कालो हुने, नाक र आँखा वरिपरिको भागमा कालो दाग बस्ने जस्ता समस्या देखिने गर्दछ ।
ब्ल्याक फंगसबाट पीडित बिरामीको आँखामा सुजन र दुखाई हुने, परेलाको झुकाइ तथा धमिलो हुने र अन्त्यमा दृष्टि गुम्न सक्ने खतरा रहन्छ । ‘नाक वरिपरि छालामा कालो धब्बाहरु हुन सक्छ,’ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत सिकलसेल एनिमिया अनुसन्धानकर्ता समेत रहेकी बालरोग विशेषज्ञ डा. रोमा बोराले भनिन्, ‘विरामीको अकस्मात मृत्यु हुन पनि सक्छ ।’
उनले सुरुवाती चरणमै पहिचान भए उपचार गर्न सकिने बताए । लक्षण देखिने वित्तिकै फिजिसियनको सल्लाह बमोजिम उपचार गर्नुपर्ने उनको सुझाव छ ।
उच्च मधुमेह भएका विरामीमा यस्तो समस्या बढी देखिने गर्दछ । विशेषगरि, मधुमेह रोगी र कोरोनाको उपचारको क्रममा स्ट्रोइड्स ग्रुपको औषधि प्रयोग गर्दा रगतमा चिनीको मात्रा बढ्ने ब्यक्तिमा यो समस्या देखिने गरेको डा. बोराले बताइन् । ‘मधुमेह भएका कोरोना पीडित व्यक्तिलाई म्युकोर्मोकोसिले बढी जोखिम पार्न सक्छ,’ उनले भने ।
उनले ओठ, नाक, आँखा हुँदै आँखाको नसाको माध्यमबाट मस्तिष्कमा पुग्ने र विरामीको मृत्यु हुन सक्छ । उनले भनिन्, ‘विरामीको पक्षघात र मगज विग्रने समस्या पनि आउन सक्छ ।’
कसरी लाग्छ ब्ल्याक फङ्गस ?
रोगसँग लड्ने क्षमता नभएका ब्यक्तिमा यो समस्या देखिने गरेको छ । कोभिडका विरामीलाई ठूला–ठूला मात्राका एन्टीबायोटिक दिने भएकोले रोगसँग लड्ने क्षमता कम हुने भएकोले ब्ल्याक फङ्गसका किटाणुले सजिलै आक्रमण गर्ने हुन्छ ।
कोरोनाको औषधिले ब्याक्टेरियालाई त मार्छ नै शरिरलाई आवश्यक पर्ने ब्याक्टेरिया पनि मार्ने गरेको बालरोग विशेषज्ञ डा. बोराले बताइन् । उनले भनिन्, ‘कोरोना संक्रमितको उपचारको क्रममा प्रयोग भएका अक्सिजन मास्क, क्यानोला, सूई र अन्य स्वास्थ्य सामग्रीबाट पनि ब्ल्याक फङ्गसको किटाणु शरिरमा प्रवेश गर्छन्,’ डा. बोराले भनिन् ।