संक्रमितमा भरोसा जगाउँदै नरैनापुरस्थित लक्ष्मणपुर आइसोलेशन

बाँके, ७ जेठ ।


तीन दिनसम्म ज्वरो नथामिएपछि नरैनापुर गाउँपालिका ३, रतैयाका ६६ बर्षिय अब्बु हुसैन खाँले एन्टिजेन मार्फत कोरोना जाँच गराए । उनको एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनी हतारिए । डरले थर–थर कापे । मुटुको चाल बढ्यो । आफूलाई कोरोना संक्रमण भएको परिवारका सदस्य र आफन्तलाई जानकारी गराए । कोरोना संक्रमण भएको सूचना पाएपछि उनी घर नगई सिधै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनमा पुगे । अब्बु नै दोस्रो लहरको कोरोना संक्रमणमा नरैनापुरको अक्सिजन सहितको आइसोलेशनमा बस्ने पहिलो कोरोना संक्रमित हुन् । ‘ज्वरो, रुघाखोकी लागेकोले मलाई कोरोना लागेको हुनसक्छ भन्ने मलाई लागेको थियो । नभन्दै यस्तै भयो,’ उनले भने ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन पुगेको रात स्वास प्रस्वासमा समस्या देखियो । उनलाई अक्सिजन दिइयो । दुई सिलिण्डर अक्सिजन सकिनै लाग्दा समेत उनको शरिरमा अक्सिजन लेवल बढेन । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी हड्बडाए । अव पनि सुधार भएन भने नेपालगन्ज लैजाने निर्णयमा चिकित्सक र स्वास्थ्यकर्मी पुगिसकेका थिए । ‘तेस्रो सिलिण्डर सकिदा पनि सुधार भएन भने नेपालगन्ज लैजानु पर्छ भनेको सुन्ने वित्तिकै म बाँचे यहिँ बाच्छु, मरे आफ्नै ठाउँमा मर्छु नेपालगन्ज जान्न भन्ने जवाफ फर्काएँ,’ अब्बुले भने ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनले आफूलाई पुनर्जिवन दिएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालगन्जस्थित भेरी कोरोना विशेष अस्पतालमा ल्याएको भए म बाटो मै मर्थेँ । जसोतसो अस्पताल पुर्याएको भए पनि भेरीमा मेरो मृत्यु हुन्थ्यो । प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनले मलाई पुनर्जिवन दिएको छ । यस प्रति म आभारी छु । स्वास्थ्य केन्द्रले मलाई भुल्नै नसक्ने गुण लगाएको छ ।’


अब्बुको स्वास्थ्यमा समस्या देखिएपछि उनका परिवारका सदस्य र आफन्तमा रुवाबासी चल्यो । परिवार, आफन्त र छिमेकीहरु आइसोलेशनमै पुगे । टाढैबाट सान्त्वना दिए । निको भएर घर फर्किने ढाडस र आत्मबल दिए । बाच्ने हौसला र रोगसँग लड्ने क्षमता दिए । ‘परिवारका सदस्य, आफन्त र छिमेकीहरुको सान्त्वना ढाडस र हौसलाले रोगसँग लड्ने आँट र क्षमता बढ्यो,’ उनले भने ।
उनले आइसोलेशन बसाईको क्रममा जनप्रतिनिधिको माया र स्नेह राम्रो पाएको बताए । नरैनापुर गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहेका गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाह दैनिक तीन पटक आइसोलेशनमा पुगेर स्वास्थ्य अवस्था बुझेको उनले बताए । ‘मेरो स्वास्थ्य अवस्था र आइसोलेशनमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्ने ब्यवहारका बारेमा बुझ्न अध्यक्ष जी विहान, दिउँसो र बेलुकी आइसोलेशनमा आउनु हुन्थ्यो,’ उनले भने, जनप्रतिनिधि आउँदा आधा रोग त्यसै निको भए जस्तो हलुका हुन्थ्यो ।’
उनले चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा कुनै कमी नराखेको बताए । ‘उपचारमात्र नभई हौसला दिने र बोली बचन पनि लगाई राख्नु हुन्थ्यो । उहाँहरुको बोली बचनले पनि कोरोनालाई जित्न मद्दत गर्यो,’ अब्बुले भने ।
लक्ष्मणपुर आइसोलेशनमा रहेका सद्दाम खाँले पनि चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार पाएको बताउँछन् । उनले पोषिलो खाने कुराका साथै औषधि उपचार पनि राम्रो पाएको बताए । ‘आइसोलेशनमा बसेको अनुभूति नै हुँदैन,’ उनले भने ।

Previous articleअमेरिकामा बस्ने दंगीशरणका यूवालाई मातृभूमिको माया : अक्सिजन सिलिण्डर किन्न कोभिड अस्पताललाई सवा ११ लाख प्रदान
Next articleकोरोनाको प्रवाह नगरि संक्रमितलाई तातो अण्डा खुवाउँदै द्वन्द्वपीडित तथा एक महिला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here