बाँके, ७ जेठ ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँके कोरोनाको इपी सेन्टर बन्न पुग्यो । यहाँका कोभिड अस्पताल संक्रमितले भरिभराउ भए । दैनिक १०–१८ जनाले अस्पतालमा मृत्यु र ५–७ सयमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि यहाँका सरकारी, गैरसरकारी, बैंक तथा वित्तिय संस्था र संस्थान बन्द भए । लकडाउन सँगै बजार पनि बन्द भएपछि सर्वसाधारणको आउजाउ पनि पातलिएको छ ।
यसबेला बजारका चोक र गल्लीमा सुरक्षाकर्मी, फाटफुट रुपमा पत्रकार, स्वास्थ्यकर्मी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी देख्न सकिन्छ । समाज सेवाको रुपमा काम गर्न स्थापना भएका गैरसरकारी संस्था र नागरिक समाजका अगुवा पनि बाहिर निस्कन सकेका छैनन्, तर द्वन्द्व पीडित तथा एक महिलाहरु आफ्नो ज्यान हत्केलामा राखेर भेरी कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको ‘इम्यूनिटी पावर’ बढाउन तातो अण्डा खुवाउने अभियान थालेका छन् । उनीहरुले दैनिक दुई सय ५० वटा अण्डा भेरी अस्पताल र नारी विकास केन्द्र आइसोलेशनमा रहेका संक्रमितलाई वितरण गर्दै आएका छन् ।
संक्रमितको इम्युनिटी पावर बढाउन तातो अण्डा खुवाउने अभियानमा कोरोनालाई जितेका एकल महिला पनि छन् । कोरोनालाई जितेको तीन दिन नबित्दै उपचाररत संक्रमितलाई पौष्टिक आहार अन्तरगत तातो अण्डा खुवाउने अभियान थालेको मानब अधिकारको लागि महिला एकल महिला समूहको केन्द्रीय उपाध्यक्ष तथा बाँकेका संस्थापक अध्यक्ष शोभा विसीले बताइन् । उनले भनिन्, ‘कोरोनाले शरिर गलाउने र कमजोर बनाउँछ । उसलाई जित्न पौष्टिक आहारको जरुरत पर्छ भन्ने चिकित्सकको सल्लाह बमोजिम तातो अण्डा खुवाउने अभियान सुरु गरेका हौँ ।’
उनी बजारबाट अण्डा किनेर कार्यालयमा पुर्याउँछिन् । भर्खरै कोरोनाबाट मुक्त भए पनि उनले मोटरसाइकल आफै चलाउँछिन् र त्यसमा राखेर भान्सामा पुर्याउँछिन् । ‘म बाँचे, अव अरुलाई पनि बचाउनु पर्छ भन्ने लागेर अभियानमा जोडिएको छु,’ उनले भनिन् ।
द्वन्द्व पीडित तथा एकल महिला संजालको अभियानमा बाँके अध्यक्ष जयन्ती केसीले अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । उनी पनि कोरोनालाई परास्त गर्ने वित्तिकै अभियानमा लागेकी हुन् । ‘अण्डा उमाल्न र लैजान दैनिकजसो भान्सामा पुग्छु । वितरणलाई सहज बनाउन अस्पताल परिसरमा पुगेर सहयोग गर्छु’ उनले भनिन् ।
संक्रमितलाई पौष्टिक आहार खुवाउने योजना कसरी बन्यो ?
मानब अधिकारको लागि महिला एकल महिला समूहको केन्द्रीय उपाध्यक्ष तथा बाँकेका संस्थापक अध्यक्ष शोभा विसीलाई कोरोना भयो । उनले १० दिनमा कोरोना जितिन् । चार दिन आराम गरेर उनले संक्रमितको सेवा गर्ने योजना बनाइन् । तर, के गर्ने निक्र्योल गर्न सकेकी थिइनन् । एक्कासी उनको योजना फुर्यो । उनले भेरी कोरोना विशेष अस्पताल र नारी विकास केन्द्र आइसोलेशनमा उपचाररत संक्रमितलाई पौष्टिक आहार खुवाउने निधो गरिन् ।
उनको योजनामा मानब अधिकारको लागि महिला एकल महिला समूह केन्द्रिय कार्यालयकी लिली मेडमले साथ दिइन् । उनले एक जना विरामीलाई दैनिक एउटा अण्डा खुवाउने निर्णय गरि आफ्ना सहकर्मीसँग सल्लाह गरिन् । उनले भनिन्, ‘संक्रमितको सेवा गर्न पाएकोमा हामी खुसी छौँ ।’
तातो अण्डा खुवाउने अभियानमा जोडिदै दानवीर
द्वन्द्व पीडित तथा एकल महिला संजालको तातो अण्डा खुवाउने अभियानमा दानवीरको सहयोग जुट्न थालेको छ । अभियानमा जोडिदैँ एमाले बाँकेले शुक्रवार पाँच पेटी अण्डा प्रदान गरेको अध्यक्ष केसीले बताइन् ।
मदन भण्डारी स्मृति दिवसको सप्ताह ब्यापी कार्यक्रम अन्तरगत पाँच पेटी अण्डा प्रदान गरेको एमाले बाँकेका सचिवालय सदस्य अशोक कर्माचार्यले बताए । उनले पवित्र अभियानमा जोडिन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालगन्जका विष्णु श्रेष्ठले पनि अण्डा सहयोग गरेको बताए । ‘द्वन्द्व पीडित तथा एकल महिला संजालले थालेको अभियानलाई हामी सम्मान गर्छौँ, यस्तो महान कार्यमा जोडिन पाउँदा हामी गौरबान्वित भएका छौँ,’ उनले भने ।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले १० हजार पाँच सय रुपैँया प्रदान गरेकी छन् ।
यसैगरि, पौष्किट आहारका लागि नेपालगन्ज उपमहानगरपालिका ९, समावेशी टोलका गोविन्द रेग्मीले विहीवार तीन हजार पाँच सय रुपैँया प्रदान गरेका छन् । भने, आशिर्वाद पेन्टस्मा कार्यरत गीता खत्रीले पनि तीन हजार पाँच सय रुपैँया प्रदान गरेकी छन् ।
नेपाल टेलिकमको आधिकारिक बिक्रेता रुद्रप्रिया इन्टरनेशनल प्रालिका सञ्चालक माधवप्रसाद शर्माले पाँच हजार ५१, नेपालगन्ज, भृकुटीनगरका बिष्णु रावल र मदन रावलले पाँच हजार, रोटरी क्लव, बर्दिया (प्र) को आह्वानमा बर्दिया गुलरि समाजसेवी मङ्गलादेवी श्रेष्ठले १५ हजार र कोरियाबाट बीरेन्द्र जिसीले तीन हजार चार सय ५६ रुपैँया पठाएको अध्यक्ष केसीले बताइन् ।
त्यसैगरि, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगत बाँके सूचना केन्द्र संयोजक अर्जुन कार्कीले दुई हजार पाँच सय रुपैँया सहयोग गरेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्रका पूर्व प्रमुख तुलबहादुर राना क्षेत्रीले पनि दुई हजार पाँचसय रुपैँया प्रदान गरेर अभियानलाई साथ दिएको उनले बताइन् । ‘दाताको सहयोग पाए आगामी दिनमा भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई विहानको खाजा खुवाउने इच्छा छ,’ उनले भनिन् ।