प्रमुख प्रशासकीय अधिकृत नहुँदा नरैनापुरको विकास निर्माण ठप्प

बाँके, ४ जेठ ।


दैनिक प्रशासन चलाउने प्रशासक नहुँदा नरैनापुर गाउँपालिकाको विकाससँगै अन्य गतिविधिमा सिधा असर परेको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ शाहीको पदोन्नतीसँगै दैलेखको दुल्लु नगरपालिकामा सरुवा भएपछि नरैनापुर गाउँपालिका प्रशासक विहिन भएको हो ।
दैनिक प्रशासन चलाउन मुख्य ब्यक्ति नहुँदा बजेट विनियोजन भएका विकास र गुरु योजना अलपत्र परेको गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाहले बताए । उनले प्रमुख प्रशासकीय अधिकृत नहुँदा बैंक खाता संचालनमा समेत समस्या भएको बताए । बैंक खाता संचालन नहुँदा रकम निकासा गर्न र कोभिडका विरामी तथा कोभिड नियन्त्रणका लागि रकम अभाव भएको उनले जानकारी दिए । प्रमुख प्रशासकीय नहुँदा सवै क्षेत्रमा असर परेको छ । ‘कोरोनाका विरामीको उपचार, ब्यवस्थापन र नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिदमा समेत समस्या परेको छ,’ उनले भने ।
कोरोना नियन्त्रणका लागि सामग्री खरिद गर्न र भौतिक संरचना निर्माण गर्न ठूलो समस्या सिर्जना भएको विपद ब्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए । उनले प्रमुख प्रशासकीय नहुँदा कर्मचारी ब्यवस्थापन गर्न र विकास निर्माण तथा पारित भएका कार्यक्रम संचालन गर्न नसकिएको बताए । ‘एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृत नहुनु दुखद हो । यसले सिंगो नरैनापुर गाउँपालिकालाई असर पुर्याएको छ,’ उनले भने ।
नरैनापुरको सिंगो विकासका लागि छिटोभन्दा छिटो प्रमुख प्रशासकीय अधिकृतको ब्यवस्था गर्न कार्यबहाक अध्यक्ष मसुद अहमद शाहले सरकारसँग माग गरेका छन् । ‘चालू आर्थिक बर्षको योजना सम्पन्न गर्न र पालिकालाई विकासको गति दिन सरकारले छिटो भन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाई दिनु पर्यो,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here