बाँके, ३ जेठ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दंगीशरण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षको निधन भएको छ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ६५ बर्षिय चौधरीलाई तीन दिनअघि कोहलपुर ल्याइएको थियो ।
उनको सोमवार विहान ११ः४५ बजे मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । नातिनीको विवाह सकिए लगत्तै उनलाई ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने जस्ता समस्या देखिएको थियो । उनको नातिनीको १७ बैशाखमा विवाह भएको हो ।
यसैगरि, कोरोना संक्रमण भई पत्रकार लक्ष्मण बस्नेतको निधन भएको छ । बबई गाउँपालिका वडा न.ं ४ का बस्नेतको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमवार दिउँसो निधन भएको नेपाल पत्रकार महासंघ, दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । बस्नेत पत्रकार महासंघ दाङका कार्यसमिति सदस्य हुन् । कोरोनाबाट दाङका अर्का पत्रकार दामोदर अधिकारीको यसअघि नै निधन भइसकेको छ ।