फरक उद्योगले उदायका सतिशः अस्पतालका लागि शैया तयार गर्न भ्याई–नभ्याई

बाँके, २ जेठ ।


सतिश केसी उमेरले भर्खरै २९ बर्षमा पाइला टेकेका छन् । भारतको बैंलोरबाट कम्प्यूटर इन्जिनियर उत्तीर्ण गरेका उनले नेपालमा नयाँ ब्यापार सुरु गर्ने सोँच बनाए । उद्योग संचालनका लागि धेरै ठाउँ डुले, अनुसन्धान गरे, योजना बनाए । अरुले संचालन गरेको उद्योग र ब्यवसाय हेरे । अरु भन्दा फरक गर्नु पर्छ भन्ने सोँचलाई सार्थक बनाउन इन्टरनेटको सहायता लिए । ‘सोध्नु सवैसँग निर्णय लिनु आफैले’ भने जस्तै उनले धेरैको अनुभव सुने र नयाँ ब्यापारको लागि धेरैसँग राय लिए । अन्तिममा उनले अस्पताललाई चाहिने बेड लगायत अन्य सामग्री निर्माण गर्ने उद्योग खोल्ने निश्कर्ष निकाले । ‘एउटाले गरेपछि अर्कोले त्यहि ब्यापार गर्ने हामी नेपालीको परम्परालाई तोड्न मैले नयाँ उद्योग संचालन गर्ने आँट गरेको हुँ,’ उनले भने ।

उनले कोहलपुर नगरपालिका–९, पिपरीमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि संचालनमा ल्याएका छन् । अस्पतालका लागि आइसियू, नर्मल बेड, लकर, आइभी स्टेन्ड लगायत आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि अन्य सामग्री उत्पादन गर्दै आएका केसीले एक बर्षमा नेपाल र भारतको उत्तर प्रदेशमा आफ्नो ब्यापार विस्तार गर्न सफल भएका छन् ।
उनको उत्पादनलाई विस्तार गर्न विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसले थप मद्दत गरे पनि त्यसअघि नै उनले अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री उत्पादन सुरु गरिसकेका थिए ।
केसीले देशमा केही नयाँ काम गर्ने सोँच र अहिलेको कोभिड–१९ महामारीको अवस्थालाई मध्ये नजर गरेर अस्पतालमा चाहिने फर्निचर लगायत अत्याधुनिक किसिमका शैया, ह्विल चेयर तथा अन्य उपकरणको निर्माण शुरु गरेको बताए । ‘मैले नयाँ उद्योग सञ्चालन गरेकै कारण थोरै समयमा स्वदेश तथा भारतको विभिन्न जिल्लामा बजार बनाउन सफल भएको छु,’ सतिशले भने, ‘अहिले अस्पताल, आइसोलेशन, क्वारेन्टाइन तथा स्वास्थ्य संस्थाहरुबाट सामान्यदेखि दुबैतर्फ फोल्डिङ भएका शैयाका लागि धेरै माग आएको छ ।’


उनले चार महिनामा झण्डै दुई हजार अत्याधुनिक शैया विक्रि गरिसकेको बताए । उनले भारतीय बजारलाई समेत चुनौती दिएका छन् । उनले भारत भन्दा सस्तो मुल्यमा सामान विक्रि गर्दै आएको बताए । भारत र चिनकबाट ल्याइएका सामग्री भन्दा २५–३० प्रतिशत कम मूल्यमा हामीले सामग्री दिइरहेका छौँ,’ केसीले भने ।
भारतको गोरखपुर, लखनऊ, बहराइच, गोण्डा लगायत अस्पतालबाट समेत १२ हजार शैयाको माग आएको बताए । उनले भारतमा प्रति शैया भारु १५ हजारमा विक्रि गर्ने सहमति भएको बताए ।
सो उद्योगमा चार करोड लगानी भइसकेको उनले बताए । उनले उद्योग विस्तार गर्ने लक्ष्य रहेको बताए । ‘थप लगानी गरेर पाँच करोड पुर्याउने योजना छ,’ उनले भने ।


सो प्रालिले अस्पतालका उपकरण मात्रै नभई बिभिन्न खाले ट्यांकीहरु पनि निर्माण गर्न थालेको छ । डिष्ट्रिलरी र वाईन फ्याक्ट्रीहरुमा आवश्यक पर्ने ट्यांकी निर्माण गर्न सुरु गरिएको उनले बताए ।
यसैगरि सो उद्योगबाटै दुधजन्य उद्योगका लागि आवश्यक पर्ने चिलिङ भ्याट, दुध बोक्ने ट्याङकर, अटो रिक्सा, ब्याट्रीबाट चल्ने मोटर साईकल र स्कुटर, पानी प्रशोधन गर्ने मेसीन लगायतका उपकरणहरु पनि निर्माण गर्ने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here