गाउँ–गाउँ पुगेर संक्रमित खोज्दै नरैनापुर गाउँपालिका, एकैदिन १० जना संक्रमित फेला (फोटो फिचर)

बाँके, ३० बैशाख ।


नरैनापुर गाउँपालिकामा विहीवार १० जना कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमितको खोजी गर्दै गाउँ–गाउँ पुगेको स्वास्थ्य टोलीले एन्टिजेन मार्फत कोरोना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका कार्यबहाक अध्यक्ष मसुद अहमद शाहले बताए । गाउँपालिकाले २८ बैशाखदेखि कोरोनो संक्रमित खोज पड्ताल अभियान संचालन गरेको उनले बताए ।
उनले पछिल्लो समय गाउँघरमा रुघाखोकी र ज्वरो आउने विरामीको संख्या बढेको बताए । रुघाखोकी र ज्वरो आउने विरामीमा स्वास प्रस्वास समस्या समेत देखिएका कार्यबहाक अध्यक्ष शाहले जानकारी दिए । ‘यहाँका ८० प्रतिशत जनतामा रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । अधिकांश विरामीलाई स्वास प्रस्वासको समस्या पनि छ,’ उनले भने ।


ज्वरो आउने र रुघाखोकी समस्या देखिएका ठाउँको पहिचान गरि एन्टिजेन मार्फत कोरोना परीक्षण अभियान थालिएको उनको भनाई छ । एन्टिजेन मार्फत परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
नरैनापुर गाउँपालिकाले विहीवार वडा नं. ४ नरैनापुर र वडा नं. ५ मटेहियाका विरामीको कोरोना परीक्षण गरेको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए । ज्वरो आउने र रुघाखोकी लागेका मटेहियाका २६ जनाको परीक्षण गर्दा तीन पुरुष र एक महिला गरि चार जनामा कोरोना पुष्टि भएको उनले बताए ।


विहीवार नै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत तीन जना विरामीमा पनि कोरोना पुष्टि भएको छ । ‘एन्टिजेन मार्फत परीक्षण गर्दा उपचाररत दुई पुरुष र एक महिला गरि तीन जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने ।
वडा नंं. ३ कालाफाँटाका ६ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको मिश्रले बताए । यहाँका सवै गाउँमा ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएको उनको भनाई छ ।
कोरोना संक्रमित खोज पड्ताल अभियानका क्रममा फेला परेका संक्रमितलाई नरैनापुरस्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेशनमा राखिएको वडा नं. ३ का अध्यक्ष समेत रहेका कार्यबहाक अध्यक्ष मसुद अहमद शाहले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहित ५० बेड भएको उनले बताए । ‘नरैनापुरका संक्रमितलाई बाहिर पठाउन नपरोस भन्ने उद्देश्यले आदर्श मावि लक्ष्मणपुरमा थप २० बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएका छौँ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here