स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उप–महानगरको निर्देशन

बाँके, २१ बैशाख ।


नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न भनेको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि उप–महानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनुगमनका लागि गठित समितिको बैठकमा नगर प्रमुख डा. धवलशमशेर राणाले कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सरसफाईकर्मी र अन्य कर्मचारीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संकटको समयमा अग्रभागमा खटिएर काम गर्ने सबैजना प्रति आभार ब्यक्त गरेको छ ।
बैठकमा उपप्रमुख उमा थापा मगरले स्वास्थ्यकर्मी लगायतका अन्य कर्मचारी र जनप्रतिनिधीहरुले उच्च जोखिमका बीचमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै आगामी दिनमा झन उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिन् । ‘कार्यक्षेत्रमा कुनै समस्या वा कठिनाई भए तत्काल जनप्रतिनिधीहरुको सम्पर्कमा आउनुहोला,’ उप–प्रमुख मगरले भनिन्, ‘तपाईहरुको कामको उच्च मुल्यांकन हामीले गरिरहेका छौँ ।’
नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरेको छ । सीमानाकामा हेल्थडेस्क सञ्चालन गरिरहेको छ । आईसोलेसन र हेल्थडेस्कसँगै होम आईसोलेसनमा बसेका कोभिड संक्रमितको परामर्शका लागि पनि प्रत्येक वडामा स्वास्थ्यकर्मी खटाइएको छ । आईसोलेसनमा बसेकाहरुको खाना र नास्ताको व्यवस्था उप–महानगरपालिकाले गरिरहेको छ । संक्रमितलाई आईसोलेसनसम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको अनूगमन समितिका सदस्य तथा वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले जानकारी दिए ।
यसैबीच नेपालगञ्ज उप–महानगरपालिकाभित्र रहेका संक्रमितहरुलाई निशुल्क औषधी वितरणका सम्बन्धमा मंगलबार वडास्थित स्वास्थ्य संस्थाका प्रमुखहरुको बैठक उप–महानगरपालिकामा बसेको छ । बैठकमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि वडास्तरमा गर्नुपर्ने काम र भईरहेका कामबारे आवश्यक जानकारी दिएका थिए ।

Previous articleमुख्यमन्त्री शंकर पोखरेलले गरे शपथ ग्रहण
Next articleअक्सिजन नपाउँदा कोभिड अस्पतालको क्षमता विस्तार रोकियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here