डिसिसिएमसीको हारगुहारः सरकार विशेषज्ञ चिकित्सकको टोली छिटो पठाऊ

बाँके, ११ बैशाख ।


जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले बाँकेमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष पहल गरिदिन सरकारसँग माग गरेको छ । डिसिसिएमसीको शुक्रवार बसेको बैठकले कोरोना नियन्त्रण र उपचारमा सहयोग पुर्याउन विशेषज्ञ सहितको चिकित्सक टोली तत्काल पठाउन संघीय सरकारसँग माग गरेको केन्द्रका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
भेरी अस्पतालमा उपलब्ध चिकित्सक र स्वास्थ्यकर्मी अपुग भएकोले विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तत्काल पठाउन माग गरिएको उनको भनाई छ । ‘थप चिकित्सकको टोली नपठाउने हो भने कोरोना संक्रमित विरामीको उपचारमा समस्या आउने निष्कर्षसहित थप जनशक्ति माग गर्ने निर्णय भएको छ,’ गेलालले भने, ‘निर्णय सहितको माग पत्र संघीय सरकारलाई पठाएका छौँ ।’
डिसिसिएमसीले नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको क्षमता बृद्धि गर्न सम्बन्धित अस्पताललाई आग्रह गर्ने निर्णय गरेको छ । भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरको क्षमता बृद्धि गरि दुई–दुई सय पुर्याउन आग्रह गरिएको उनले बताए । ‘क्षमता बृद्धिका लागि केन्द्र र प्रदेश सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय पनि भएको छ,’ प्रजिअ गेलालले भने ।
भेरी अस्पतालको कोरोना विशेष अस्पतालमा एक सय ४२ र शिक्षण अस्पताल कोहलपुरकोे आइसोलेशनमा ५९ बेडमात्र रहेको छ । ‘कोरोनाको उपचार गरिरहेका अस्पतालले बेड थप गरे केहि राहत हुने देखिन्छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारीका गेलालका अनुसार, डिसिसिएमसीले कोरोना उपचारमा सहयोग पुर्याउन स्थानीय तहसँग पनि रकम माग गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले तीन लाख, कोहलपुर नगरपालिकाले दुई लाख र गाउँपालिकाले एक–एक लाख रुपैँया दिने भएका छन् । उक्त रकम एम्बुलेन्स संचालन लगायत अन्य भैपरि समस्या समाधानमा खर्च गरिने भएको छ ।

Previous articleभेरी अस्पतालको कोरोना वार्ड भरिभराउ, बेड नपाउँदा संक्रमित बाहिर बस्न बाध्य
Next articleलुम्बिनी प्रदेशका आइसियू र भेन्टिलेटर भरिए, विरामीले पाउँन छाडे बेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here