बाँके, ८ बैशाख ।
कोरोना संक्रमण जनस्तरसम्म फैलिएपछि विहीबारदेखि लागू हुने गरि बाँकेको सदरमुकाम नेपालगन्जलाई एक साताका लागि लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेको सिफारिसमा बाँके प्रशासनले ९ बैशाख विहान १२ बजेदेखि लागू हुने गरि नेपालगन्ज क्षेत्र भरि लकडाउन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्वपक्षीय÷सर्बदलिय बैठकले ९ गते देखि लागू हुने गरि नेपालगन्जको सम्पूर्ण क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । ९ बैशाख विहान १२ बजेदेखि १५ बैशाख रातीसम्म यातायातका साधन, पसल, कलकारखाना, शैक्षिक संस्था सवै बन्द हुनुका साथै हिड्डुल समेत निषेध गरिएको गेलालले बताए ।
लकडाउन अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, दूर संचार, खानेपानी, फोहरमैला ब्यवस्थापन, पेट्रोलियम पदार्थ, तरकारी, खाद्यन्न तथा दुग्ध पदार्थ, औषधि पसल, बैँकको एटिएम जस्ता अत्यावश्यक सेवाहरु खुल्ला रहने प्रमुख जिल्ला अधिकारी गेलालद्वारा जारी सूचनामा उल्लेख छ ।
तर, खाद्यन्न तथा दुग्ध पदार्थ र तरकारी पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । सूचनाको बर्खिलाप गरे प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रशासनले स्पष्ट पारेको छ । ‘आदेशको अवज्ञा वा उलंघन गर्ने वा काममा बाधा पुर्याउने ब्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने छ,’ जारी सूचनामा उल्लेख छ ।