नेपालगन्जका १० शिक्षक र पाँच विद्यार्थीमा कोरोना संक्रमण

श्री मावि, मधपुरको कक्षा ९ मा अध्ययनरत विद्यार्थी ।

बाँके, ३ बैशाख ।


नेपालगन्जका १० शिक्षक र पाँच जना विद्यार्थीमा कोरोना संक्रमण भएको छि । नेपालगन्ज उपमहानगरपालिका भित्र संचालनमा रहेका तीन वटा विद्यालयका पाँच जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले बताए ।
उनले नेपालगन्ज भित्र संचालनमा रहेका ६ विद्यालयका १० जनामा कोरोना पुष्टि भएको बताए । नेपालगन्जको धम्बोझी मावि, आदर्श मावि, वाटरपार्क मावि, मंगलप्रसाद (एमपी) मावि, महेन्द्र नमुना मावि र सेन्टथोमस माविका शिक्षकमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
त्यसैगरि, धम्बोझी मावि, आदर्श मावि र सनविम माविका पाँच जना विद्यार्थीमा पनि कोरोना पुष्टि भएको छ ।
डुडुवाका शिक्षक र विद्यार्थीमा पनि कोरोना संक्रमण
त्यसैगरि, डुडुवा गाउँपालिकास्थित तीन वटा विद्यालयका शिक्षक र विद्यार्थीमा पनि कोरोना संक्रमण देखिएको छ । ज्ञानदीप मावि डलैपुरका तीन जना विद्यार्थी र एकजना शिक्षकमा कोरोना संक्रमण देखिएको छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अम्रह्वाका दुईजना शिक्षिका र सरस्वती मावि भंघोटनाका एक जना शिक्षकमा पनि संक्रमण पुष्टि भएको छ ।
अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएको छ । तर, गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण भएको आधिकारिक जानकारी गाउँपालिकालाई नआएको प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
उनले शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएको समाचार बाहिर आए पनि अहिलेसम्म आधिकारिक जानकारी नआएको स्पष्ट पारे । कुन विद्यालयका कति विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भएको हो भन्ने हामी खोज्दै छौँ । ३ बैशाखसम्म एकीन जानकारी लिन्छौँ । त्यसपछि विद्यालय बन्द गर्ने–नगर्ने निर्णय लिन्छौँ,’ उनले भने ।
एक साताका लागि विद्यालय बन्द
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भएपछि बाँकेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द हुने भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गरि आइतवारदेखि शुक्रवारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । ‘विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण भएको र विद्यालय संचालनमा ल्याउँदा यो संख्या अझैँ बढ्न सक्ने खतरा रहेकोले एक साताका लागि विद्यालय बन्द गर्न आह्वान गर्दछौँ,’ शिक्षा शाखा प्रमुख थापाद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यसैगरि, जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आग्रहमा बाँकेका सम्पूर्ण विद्यालय आइतवार–शुक्रवारसम्मका लागि बन्द हुने भएका हुन् । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि एक साताका लागि विद्यालय बन्द गर्न आग्रह गरिएको केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीले बताए ।

Previous articleगोचाली परिवारले मनायो ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति
Next articleबाँकेमा कोरोना संक्रमण दर ६९.४ प्रतिशत, एकै दिन १३८ कोरोना संक्रमित फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here