बाँके, १ बैशाख ।
नरैनापुर गाउँपालिकालाई तोकिएको समयमा साक्षर घोषणा गर्न नसकिने भएको छ । साक्षर घोषणाका लागि अध्ययन गर्दा झण्डै १८ हजार नागरिक निरक्षर भएको तथ्यांक बाहिर आएपछि गाउँपालिकालाई तोकिएको समयमा साक्षर घोषणा गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकाको जनसंख्या ३४ हजार नौँ सय ४२ रहेको छ ।
अध्ययनले गाउँपालिकाका १७–१८ हजार नागरिक निरक्षर देखाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ शाहीले बताए । अध्ययनले ५ बर्षमुनीका बालबालिकालाई समेत समेटेकोले बयस्क उमेरका करिव १४ हजार नागरिक निरक्षर भएको अनुमान गाउँपालिकाले गरेको छ ।
नरैनापुर गाउँपालिकालाई आगामी बैशाख भित्र पूर्ण साक्षर घोषणा गर्न गाउँपालिकाले अभियान थालेको छ । ‘पाँच बर्ष मुनीका बालबालिका सहित गाउँपालिका भित्र करिव १८ हजार नागरिक निरक्षर भएको तथ्यांक छ,’ उनले भने ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले साक्षर घोषणा गर्ने समय लम्बिन सक्ने बताए । गाउँपालिका भित्र बसोबास गर्ने सवैलाई साक्षर बनाएर मात्र घोषणा गरिने उनको भनाई छ ।
गाउँपालिकामा साक्षरताको अवस्थाका बारेमा अध्ययन गर्ने संस्थाले पाँच बर्ष मुनीका बालबालिकालाई पनि समेटेको बताउँदै उनले अध्ययन प्रतिवेदनको विश्लेषण भएपछिमात्र निरक्षर संख्या एकिन हुने स्पष्ट पारे । ‘सकभर बैशाख भित्र साक्षर घोषणा गर्ने हाम्रो अभियान छ । यो सम्भव नभए असार मसान्त भित्र गाउँपालिकालाई पूर्ण साक्षर घोषणा गर्छौँ,’ उनले भने ।