बाँके, २९ चैत ।
भारतले नेपालको शान्ति, सुरक्षालाई चुनौती दिँदै दशगजामै सिसि क्यामेरा जडान गरेको छ । दशगजामा हुने अपराधिक गतिविधिलाई नियाल्न सिसि क्यामेरा जडान गरिएको भारतीय पक्षले दावी गरेको छ । तर, उक्त सिसि क्यामेराको क्षमता पाँच सय मिटरसम्मको गतिविधि नियाल्न सक्ने रहेको नाम उल्लेख नगर्ने शर्तमा एक भारतीय अधिकारीले जानकारी दिए ।
ति भारतीय सुरक्षा अधिकारीको भनाई सहि भए भारतले दशगजामा जडान गरेको सिसि क्यामेराको सहायताले नेपालगन्ज भन्सारसम्म हुने गतिविधि भारतीय पक्षले रुपइडिहामा बसेर गर्न सक्ने छन् । भारतीय पक्षले दशगजाबाट झण्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरि त्यसमा सिसि क्यामेरा जडान गरेको छ ।
सिसि क्यामेराको बारेमा भारतीय पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । भारतीय पक्षले दशगजामा हुने गतिविधि नियाल्न सिसि क्यामेरा जडान गर्न लागेको भन्ने अनौपचारिक सूचना पाएको एक सुरक्षाकर्मीले बताए । ति सुरक्षाकर्मीका अनुसार, उक्त सिसि क्यामेराबाट नेपालगन्ज भन्सारसम्मको गतिविधि भारतले हेर्न सक्ने छ । ‘भारतले नेपालको सहमति बिना दशगजामा आफुखुशी सिसि क्यामेरा जडान गरेको छ । यसले नेपालको शान्ति सुरक्षामा चुनौती थपिएको छ,’ उनले भने ।
सीमा कुनै पूर्वाधार निर्माण गर्नुभन्दा पहिले दुई देश वीच सहमति हुनुपर्छ । दशगजामा गतिविधि संचालन गर्दा दुवै देशलाई कुनै असर नपर्ने गरि संचालन गर्ने दुई देशका सुरक्षा अधिकारी वीच निर्णय समेत भएको छ । तर, भारतीय पक्षले नेपालको सुरक्षालाई चुनौती दिँदै अन्तर्राष्ट्रिय मापदण्ड विपरित नाकामा सिसि क्यामेरा जडान गरेको छ ।
दशगजामा जडान भएका सिसि क्यामेराको सञ्चालन र रेखदेख भारतको लखनऊमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । त्यस्तै, केन्द्रस्थित दिल्लीमा रहेको एसएसबीको मुख्यालयले त्यसको अनुगमन गर्ने बताइएको छ ।
स्थानीय प्रशासन अनविज्ञ
भारतीय पक्षले दशगजा नजिकै सिसि क्यामेरा जडान गरेको जानकारी बाँके प्रशासनमा कुनै सूचना नआएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनले दुई देशको सीमानामा सिसि क्यामेरा लगायत सुरक्षामा असर पर्ने अन्य कुनै संरचना निर्माण गर्न नमिल्ने बताए ।
यस विषयमा भारतीय पक्षसँग जानकारी लिने बताउँदै उनले दशगजा नजिकै सिसि क्यामेरा जडान गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित भएको बताए । ‘भारतले दशगजा नजिकै सिसि क्यामेरा जडान गरेको हो भने यो सरासर अन्तर्राष्ट्रिय कानुन विपरित हो । यो या त्यो बहानामा भारतले दशगजा नजिकै सिसि क्यामेरा जडान गर्न पाउँदैन,’ उनले भने, बास्तविकता बुझेर यस विषयमा भारतसँग कुरा राख्छौँ । हो भने विरोध गरेर हटाउन लगाउँछौँ ।’