बाँके, २८ चैत ।
पछिल्लो समय बाँकेमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । खुल्ला सीमानाका कारण आउजाउ सहज भएका कारण बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिडिसिएमसी) ले जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जमुनाह नाकामा हेल्थ डेस्क संचालनमा ल्याइएको छ । नाकामा संचालन गरिएको हेल्थ डेस्कमा भारतबाट आउने नेपालीको स्वाब संकलन गरि एन्टीजेन परीक्षण हुँदै आएको छ । भारतको विभिन्न सहरबाट आउँदै गरेका सय जनाको स्वाब परीक्षण गर्दा हालसम्म सात जनामा कोरोना पुष्टि भएको डिडिसिएमसीका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
ति मध्ये दैलेखका तीन, बर्दियाका दुई, बाँके र रोल्पाका एक–एक जना रहेका छन् । दैलेख, रोल्पा र बर्दियाका एक–एक जना संक्रमित आ–आफ्नो जिल्लाको होम आइसोलेसनमा बस्ने गरि गएका छन् । बाँकी दुई जनालाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको ओलीले बताए । ‘पहिलो चरणमा फेला परेका पाँच जनालाई होम आइसोलेसनमा बस्ने गरि एम्बुलेन्समार्फत सम्बन्धित जिल्लामा पठाएका छौँ,’ उनले भने ।
विभिन्न आइसोलेसनमा ८० जना संक्रमित
बाँकेका विभिन्न आइसोलेसनमा ८० जना कोरोना संक्रमित रहेको डिडिसिएमसीले जनाएको छ । कोरोना फोकल पर्सन ओलीका अनुसार, भेरी अस्पतालमा ६ महिला र सात पुरुष गरि १३ जनाले स्वास्थ्य लाभ गरिरहेका छन् ।
त्यसैगरि, नेपालगन्ज होम आइसोलेसनमा ३३ महिला २१ पुरुष गरि ५४, कोहलपुर आइसोलेसनमा चार महिला र पाँच पुरुष गरि ९, खजुरा, बैजनाथ, राप्तीसोनारी तथा डुडुवा गाउँपालिकाको होम आइसोलेसनमा एक–एक जना कोरोना संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका सर्वसाधारणलाई १० दिन होम आइसोलेसनमा बस्ने नियम बनाइएको छ ।
२७ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक
भेरी अस्पतालमा पिसिआर जाँच गराउँदा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि बढ्दै गएको छ । २४ चैतका दिन मात्र नेपालगन्जका १० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा ६ र बागेश्वरी प्याथोलोजीमा चार जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कोरोना फोकल पर्सन ओलीले बताए ।
दुई महिना अघि भेरी अस्पतालको आइसोलेसनमा ८–१० जनामात्रै थिए । अहिले सक्रिय संक्रमितको संख्या ८० पुगेको उनले बताए । ‘संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसन बन्द हुने अवस्थामा पुगेको थियो । पछिल्लो १५ दिनमा बढेर ८० जना पुगेका छन्,’ उनले भने ।
भेरी अस्पतालमा रहेका ८० मध्ये २७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको उनले बताए । ‘यसैगरि बढ्दै गए भेरी अस्पतालको आइसोलेसनले धान्न नसक्ने हुन सक्छ,’ उनले भने, ‘समयमा ध्यान नदिने हो भने अवस्था गम्भिर हुन सक्छ ।’