क्यान्सर अस्पतालमा पाँच महिनामा ९४ अप्रेसन

बाँके, २० चैत ।


सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले ५ महिनामा साना, ठूला गरि ९४ वटा अप्रेसन गरेको छ । ५ मंसिरदेखि अप्रेशन सेवा सुरु गरेको अस्पतालले पाठेघर, पित्त थैली, स्तनको क्यान्सर, एपेन्डिक्स गरि ९४ जनाले सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए ।
क्यान्सर अस्पतालमा क्यान्सर पत्ता लगाउने हिस्टोप्याथोलोजी सेवा पनि सुरु भएको छ । १ चैत्रदेखि हिस्टोप्याथोलोजी सेवा सुरु भएको बताउँदै उनले २० चैत्रसम्म १५ जनाको क्यान्सर रिपोर्ट आइसकेको छ । अस्पतालको ओपीडीबाट हाल दैनिक ५०–८० जनाले सेवा लिन थालेको डा. आचार्यले जानकारी दिए । ‘पहिले १५–२० जनामा मात्र सिमित थियो । अहिले दैनिक ५०–८० जनाले सेवा लिन्छन्,’ डा. आचार्यले भने ।
उनले एक महिनामा एक हजार तीन सय २६ जना विरामीले उपचार सेवा लिएको बताए । सुरुवाती दिनमा एक दिनमा एक सय ३० जनाले लिएको बताउँदै डा. आचार्यले पछिल्लो समय बढेर दैनिक झण्डै १५ सय विरामीले सेवा लिएको तथ्यांक पेश गरे । ‘अस्पतालले गुणस्तरिय सेवा दिन थालेपछि विरामीमा अस्पताल प्रति विश्वास बढेको छ,’ उनले भने ।
उनले औसत मासिक एक लाख रुपैँया आम्दानी हुने गरेकोमा अहिले दैनिक एक लाख रुपैँया आम्दानी हुन थालेको जिकिर गरे ।
अस्पतालले रेडियोलोजी सेवा दिने समय बढाएको छ । दैनिक २ बजेदेखि उक्त सेवा दिँदै आएको अस्पतालले अहिले बिहान ९ः३० बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिन थालेको छ । अस्पतालका निर्देशक डा आचार्यका अनुसार अस्पतालले १ चैतदेखि क्यान्सरको ओपीडी सेवा हप्ताको दुई दिन मंगलबार र बिहीबार भेरी अस्पतालमा संचालनमा ल्याएको छ । ‘टाढाका विरामीलाई मध्यनजर गरि अस्पतालको सम्पर्क कार्यालय नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोमा स्थापना गरि संचालनमा ल्याएका छौँ,’ उनले भने ।

Previous articleसदस्यता वितरणमा भएको विभेदकारी नीतिका विरुद्ध चौतारीले थालेको अभियानमा अवधि पत्रकार संघको ऐक्यवद्धता
Next articleनाकामा हेल्थ डेस्क : परीक्षण गरिएका सात प्रतिशत नेपालीमा कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here