बाँके, १८ चैत ।
नेपाल पत्रकार महासंघ, बाँकेले सदस्यता वितरणमा विभेद गरेको भन्दै अवधि पत्रकार संघले असन्तुष्टी जनाएको छ । संघका महासचिव गुरुमुरत यादवले बुधवार विज्ञप्ती जारी गरि सदस्यता वितरणमा भएको त्रुटी तत्काल सच्याउन माग गरेको छन् । पत्रकार महासंघको विधान बमोजिम सदस्यता वितरण गर्नुपर्ने हो, तर त्यस्तो नगरि सदस्यता वितरण भएको कार्यप्रति अवधी पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ यादवद्वारा जारी विज्ञप्तीमा अगाडी भनिएको छ, ‘पत्रकार महासंघ बाँके शाखा विभेदपूर्ण तरिकाले सदस्यता वितरण गरेको हुनाले त्यसलाई अबिलम्ब सच्चाउन हामी जोडदार माग गर्दछौ ।’
एक दशक भन्दा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकारले पटक–पटक सदस्यताका लागि आबेदन दिए पनि राजनीतिक भागवण्डामा कहिलै नपर्ने गरेको घटनाप्रति संघले घोर आपत्ती जनाएको छ । पत्रकार महासंघको विधानले समाबेशीमुलक संस्था बनाएपनि त्यस अनुरुप नगरि अवधी भाषी पत्रकारहरुलाई विभेदपूर्ण तरिकाको ब्यवहार देखाएको संघले ठहर गरेको छ । ‘सदस्यता वितरणमा कुनै पनि भाषा, जातजाती, वर्ग वा समुदाय नभनी समाबेशी ढंगले सबैलाई समान व्यवहार गर्न संघले अपील समेत गर्दछ,’ संघका महासचिव यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अवधी भाषी केहि पत्रकारहरुको सदस्यता नविकरण समेत नगर्दा त्यहाँ पनि अवधी पत्रकारलाई विभेद तथा अपहेलना गरेको महशुस भएको संघले जनाएको छ । सदस्यता विवादका विषयमा प्रेस चौतारी नेपाल बाँकेले महासंघ कार्यालयमा गरेको तालावन्दीको समेत समर्थन गरेको छ । ‘महासंघले आगामी दिनमा गर्ने कमी कमजोरीलाई तत्काल सुधार गर्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ ।