बाँकेमा कोइला अभाव, मारमा इँट्टा उद्योगी, इँटा अभावसँगै मुल्य बढ्ने सम्भावना

गुगलबाट

बाँके, ६ चैत ।


बाँके लगायत आसपास जिल्लाका इँट्टा ब्यवसायी समस्यामा परेका छन् । भारतले कोइला ल्याउन रोक लगाएपछि यस क्षेत्रका इट्टा ब्यवसायी समस्यामा परेका हुन् । इँट्टाको सिजन भएकै बेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला ल्याउन नदिएपछि तयार भएको काचो इँटा पकाउन नसकेको चाँद इँट्टा उद्योगका संचालक चाँद खानले बताए ।
उद्योगीले इँट्टा पकाउनका लागि झारखण्ड र बङ्गालबाट कोइला ल्याउने गरेका छन् । भारत सरकारले कोइला अभाव भएको बहाना बनाएर ल्याउन रोक लगाएको उनले बताए । इँट्टा तयार छ, तर कोइला नभएर भट्ठामा हाल्न सकेका छैनौँ,’ उनले भने, ‘पानी पर्यो भने गलेर सत्यानाश हुने डर छ ।’
बाँके, बर्दिया, दाङ, सुर्खेतका इँट्टा उद्योगीले भारत र तेस्रो मुलुकबाट कोइला ल्याउने गरेका छन् । भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेत ल्याउन नदिएको गुड्डु इँट्टा उद्योगका गुड्डु कसगरले बताए । उनले इँट्टा पकाउन प्रयोगमा आउने हुने ब्रिगेड समेत भारतले ल्याउन नदिएको बताए । ‘उखु मिलबाट निस्केको फोहरबाट बनेको ब्रिगेड समेत भारतले ल्याउन नदिँदा हामी समस्यामा परेका छौँ,’ उनले भने ।
बाँकेमा मात्र ६० वटा इँट्टा उद्योग संचालनमा छन् । भारतले ८ मार्च, २०२१ देखि कोइला ल्याउन नदिएको किसान इँट्टा उद्योगका संचालक रज्जव अलिले बताए । उनले कोइला नपाउँदा १० लाख काचो इँट्टा बाहिर रहेको बताए । कोइलाका लागि पटक–पटक भारत गए पनि ल्याउन नपाएको उनले गुनासो गरे । ‘कोइलाका लागि भारतीय अधिकारीसँग विन्तिभाउ चढायौँ, तर हाम्रो कुरा सुनुवाई भएन्,’ उनले भने, ‘आफ्नो देशमा भएको भए भनसुन गर्न हुन्थ्यो । अर्काको देशमा बोल्न डर लाग्छ । ल्याउन नदिएपछि कुनै सीप नचलेर लुरुलुरु घर फर्किनुको विकल्प भएन ।’
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि एक हप्तादेखि भारतबाट कोइला नआएको बताए । कोइला बोकेका मालबाहक गाडी नआएपछि मात्र भारतले कोइला ल्याउन नदिएको जानकारी पाएको उनको भनाई छ । कोइला ल्याउन भारतले रोक लगाएको भन्ने जानकारीमा आएको छ, तर के कारणले रोकेको हो भन्ने आधिकारिक जानकारी आएको छैन,’ भण्डारीले भने ।
भारतले कोइला ल्याउन नदिए यस क्षेत्रमा इँट्टा अभाव हुने सम्भावना बढेको छ । कोइला ल्याउन नपाए इँट्टाको मूल्य पनि बढ्न सक्ने संकेत उद्योगीले गरेका छन् । कोइला ल्याउन नपाए इँट्टा पकाउन सक्ने अवस्था छैन । इँट्टा पकाउन नसकिए बजारमा अभाव हुने छ । त्यसपछि इँट्टाको मूल्य बढ्ने नै भयो,’ जनता इँट्टा उद्योगका संचालक खर्शिद अहमदले भने ।

Previous articleनेपालगन्जका ब्यवसायी भन्छन्ः नाकामा सवारी साधन आउजाउ सहज बनाउनु पर्यो
Next articleभारतीय दुतावासले दिएको रुट परमिट लत्याउँदै एसएसवी, रुट परमिट लिएका सयौँ नेपाली मारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here