६५ बर्ष माथिका २१ हजारले लगाए कोरोना विरुद्धको खोप

बाँके, ५ चैत ।


दोस्रो चरणको कोरोना खोप अन्तरगत बाँकेमा संचालन भएको कोरोना विरुद्धको खोप अभियानमा ८१ प्रतिशतले सहभागिता जनाएका छन् । ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि संचालन भएको उक्त अभियानमा कुल २५ हजार सात सय ८९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । ति मध्य २० हजार सात सय ८६ जनाले खोप लगाएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
बाँकेमा पहिलो र दोस्रो गरि हालसम्म ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । उनले अघिल्लो पटकको खोप अभियानमा ९ हजार आठ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको बताए । बाँकेमा पछिल्लो खोप अभियानमा दुई हजार एक सय ३८ भायल खोप खर्च भएको उनले बताए । ‘बाँकेका शतप्रतिशतले खोप नलगाए पनि प्रतिशतलाई हेर्दा सन्तोषजनक मान्नु पर्छ,’ उनले भने ।
स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्य चौकी मार्फत कोरोना विरुद्धको खोप दिइएको थियो । बाँकेका आठ वटा स्थानीय तह मध्य सवैभन्दा धेरै बैजनाथ गाउँपालिकाका जेष्ठ नागरिकले सेवा लिएका छन् । बैजनाथका ९२ प्रतिशतले खोप लगाएको कोरोना फोकल पर्सन ओलीले बताए । कुल तीन हजार एक सय २१ जनालाई खोप लगाउने लक्ष्य गरिएकोमा दुई हजार आठ सय ६९ जनाले खोप लगाएको उनले बताए ।
त्यसैगरि, कोहलपुर नगरपालिकाका ८७, राप्तीसोनारी गाउँपालिकाका ८५, जानकी गाउँपालिकाका ८१ र नेपालगन्ज उपमहानगरपालिकाका ६५ बर्ष माथिका ७९ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । बाँकेमा सवैभन्दा कम डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकले खोप लिएका छन् । डुडुवाका ६६ प्रतिशतले मात्र खोप लिएको तथ्यांक छ ।
कोरोना फोकल पर्सन ओलीका अनुसार, नरैनापुरका ७६ र खजुरा गाउँपालिकाका ७७ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् । ‘खोपको बारेमा गलत प्रचार प्रसार भएकोले कुनै कुनै पालिकामा खोप लगाउनेको संख्या कम देखिएको हो,’ उनले भने ।

Previous articleएन्फा प्रेसिडेन्ट लिगः सुदूरपश्चिमको ‘स्टार सिटी’ को लगातार दोस्रो जीत
Next articleनेपालगन्जका ब्यवसायी भन्छन्ः नाकामा सवारी साधन आउजाउ सहज बनाउनु पर्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here