नेपालगन्जका ब्यवसायी भन्छन्ः नाकामा सवारी साधन आउजाउ सहज बनाउनु पर्यो

बाँके, ५ चैत ।
सरकारले ११ माघ, २०७७ मा कोरोनाका कारण ११ चैत, २०७६ देखि बन्द रहेका नेपाल–भारत सीमानाका खोल्ने निर्णय गर्यो । त्यस लगत्तै गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ल अधिकारीलाई नाका खोल्न परिपत्र गर्यो । सरकारको निर्णय र गृह मन्त्रालयको निर्देशनात्मक परिपत्रको आधारमा प्रमुख जिल्ला अधिकारीहरुले नाकामा आउजाउ गर्न केहि खुकुलो गरे, तर सवारी साधन आउजाउ गर्न नदिँदा सर्वसाधारणले सास्ती भोग्न परेको भन्दै बाँकेका ब्यवसायीले सवारी साधन आउजाउ सहज बनाउन माग गरेका छन् ।
सवारी साधन आउजाउ गर्न नपाएपछि नेपालगन्जको ब्यापार ब्यवसायमा असर परेको यहाँका उद्योगी, ब्यवसायीले गुनासो गरेका छन् । सवारी साधन आउजाउ सहज नभए पछि नेपालगन्ज र आसपासका सहरको ब्यापार, ब्यवसायमा असर परेको नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले बताए ।
सवारी साधन आउजाउ गर्न नपाउँदा सवैभन्दा क्यासिनो ब्यवसायी मारमा परेका छन् । भारतीय ग्राहकलाई मध्यनजर गरि खोलिएका क्यासिना एक बर्षदेखि बन्द छन् । ‘नेपालीलाई क्यासिनोमा जान प्रतिवन्ध छ । भारतीय आउन नपाउँदा यहाँका सवै क्यासिनो एक बर्षदेखि बन्द छन्,’ उनले भने ।
उनले यहाँको ब्यापार ब्यवसाय बढाउन नाकामा सवारी साधन आउजाउमा सहज बनाउनु पर्ने बताए । मानिस आउजाउ गर्न दिने हो भने सवारी साधन आउजाउ गर्न पनि दिनु पर्यो नी । सवारी साधनबाट कोरोना सर्ने होइन होला क्यारे,’ उनले भने, मानिस ओहरदोहर गर्न दिने, तर सवारी साधन आउजाउ गर्न नदिने कस्तो नियम हो । नाकामा सवारी साधन आउजाउ गर्न दिएर सहज बनाइनु पर्छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले सवारी साधन आउजाउ गर्न नदिँदा बाँकेको पर्यटन र होटल ब्यवसाय धरापमा परेका बताए । उनले भारतीयहरु घुम्नका लागि नेपालगन्ज, कोहलपुर लगायत आसपासका जिल्लामा पुग्ने गरेको बताउँदै होटल, पर्यटन र क्यासिनो ब्यवसाय सवैभन्दा मारमा परेको स्पष्ट पारे । दुई–चार दिन बस्ने गरि स–परिवार गाडीमा आउँछन् । रमाईलो गरेर स्वदेश फर्किन्छन्, तर ११ चैत, २०७६ देखि गाडी लिएर भारतीय आउन नपाउँदा यहाँको पर्यटन, होटल र क्यासिनो ब्यवसायमा सवैभन्दा मार परेको छ,’ उनले भने ।
नेपालगन्ज र आसपासका होटल तथा रिसोर्टहरु भारतीय पर्यटकमा निर्भर रहेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यथाशक्य चाँडो सवारी आवागमन खुलाउन माग गरे । उनले सवारी आवागमन बन्द गरेर सरकारले देशलाई नै घाटा लगाएको बताए । १० चैतदेखि सवारी साधन संचालनमा नआउँदा यहाँको ब्यापार, ब्यवसाय धरासायी भएको छ,’ उनले भने ।
सरकारको निर्णयसँगै नेपालगन्ज नाकामा भारतबाट मानिसको आउजाउ सुचारु भए पनि मालबाहक बाहेक अन्य सवारी साधनलाई सीमामा खटिएका सुरक्षकर्मीले नाकामै रोकेर फिर्ता पठाइदिने गरेका छन् । जसका कारण भारतबाट नेपाल आउन चाहने भारतीय दशगजा क्षेत्रमै आफ्ना सवारी साधन थन्क्याएर पैदल नेपालगन्ज आउजाउ गर्न बाध्य छन्।
सरकारको निर्णयपछि नाका खुलेको भनिए पनि अवस्था लकडाउनकै जस्तै विद्यामन रहेको होटल ब्यवसायी भास्कर काफ्लेले बताए । झण्डै ८ महिना बन्द भएका होटल लकडाउन खुकुलो भएसँगै सामान्य खुलेका छन् । सरकारले नाका खोल्ने निर्णय गरे पछि केहि आशा पलाएको थियो । सवारी साधन आउन नपाउँदा होटल चलाउन मुस्किल परेको छ,’ उनले भने ।

Previous article६५ बर्ष माथिका २१ हजारले लगाए कोरोना विरुद्धको खोप
Next articleबाँकेमा कोइला अभाव, मारमा इँट्टा उद्योगी, इँटा अभावसँगै मुल्य बढ्ने सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here