भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको सिकलसेल एनिमिया विरामीको गुनासो

बाँके, ४ चैत ।


उपचारका लागि आउने सिकलसेल एनिमियाका विरामीले भेरी अस्पतालमा राम्रो ब्यवहार नपाएको गुनासो गरेका छन् । उपचारका लागि अस्पतालमा आउँदा चिकित्सक र स्वास्थ्यकर्मीबाट राम्रो ब्यवहार नपाएको गुनासो गर्दै पीडा सहन नसकेर बेडमा छटपटाउँदा समेत चिकित्सकले बेवास्ता गर्ने गरेको विरामीको गुनासो छ ।
सिकलसेल एनिमियाका विरामीलाई अस्पतालमा कार्यरत चिकित्सकले उपचार नगरि पञ्छिने गरेको बढैयाताल गाउँपालिका–४ का भोला सिंह थारुले बताए । सिकलसेल एनिमियाका विरामीको उपचार निश्चित चिकित्सकले मात्र गर्दै आएको उनको भनाई छ । ‘अस्पतालमा विरामी आएपछि उपचार गर्ने दायित्व सवै चिकित्सकको हुनुपर्ने हो, तर फलानो चिकित्सकलाई देखाउनुस भन्दै ड्यूटीमा रहेका चिकित्सक समेत पञ्छिन छन् । दुखाई सहन नसकेर बेडमा छट्पटाएको टुलुटुलु हेरेर बस्छन्,’ उनले भने ।
उनी एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता उपचारका लागि आउने विरामीलाई भेरी अस्पतालले बेवास्ता गरि उपचारमा ढिलाई गर्दै आएको छ । पीडाले छट्पटाई रहेका विरामीलाई सिधै जनरल वार्डमा राखिन्छ । ‘त्यहाँ न समयमा चिकित्सक पुग्छन् न त स्वास्थ्यकर्मी नै पुग्छन्,’ बर्दिया धधवारका रामनरेश थारुले भने ।
उनले समयमा चिकित्सक नआउँदा धेरै पीडा खेप्न परेको बताए । ‘समयमै चिकित्सक पुग्ने हो भने सहज हुने थियो,’ उनले भने ।
सिकसेल एनिमियाका विरामीको उपचार बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले गर्दै आएका छन् । उनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि भेरी अस्पतालमा स्थापना गरिएको सिकलसेल शाखाको बोर्ड समेत हटाइएको छ । बोर्ड हटाइएपछि विरामीहरु झुकिने गरेको सिकलसेल एनिमिया सोसाइटी (स्कास) का अध्यक्ष प्रभुराम चौधरीले बताए ।
उनले पछिल्लो समय भेरी अस्पतालमा आउने विरामीहरु उपचारबाट बञ्चित भइरहेको बताए । अस्पतालमा आएका सिकलसेलका विरामीलाई बेवास्ता गरिएको उनले बताए । सिकलसेल एनिमियाका विरामी हेर्ने छुट्टै विभाग भएको भन्दै अन्य चिकित्सकले त्यसतर्फ ध्यान नदिएको उनको भनाई छ । ‘उपचार गर्नुको साटो हेयको दृष्टिले हेर्ने गरिन्छ,’ उनले भने, ‘विरामीले राम्रो ब्यवहार नपाउँदा पीडा माथि पीडा थपिने गरेको छ,’ उनले भने ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले भेरी अस्पतालले एक लाख रुपैँया बराबरको उपचार दिँदै आएको बताए । उनले विरामीलाई भेदभाव नगरिएको बताए । उपचारका लागि आएका विरामीलाई भेद्भाव गर्ने कुरा हुँदैन । विरामीलाई यो या त्यो चिकित्सकले हेर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सिकलसेल एनिमिया विरामीको उपचार गर्ने छुट्टै यूनिट छ, त्यस मार्फत उपचार हुन्छ ।’

Previous articleकोरोनाले समृद्ध नरैनापुर निर्माणमा सहयोग (यी हुन् कोरोनाले दिएका ५ उपहार)
Next articleएन्फा प्रेसिडेन्ट लिगः सुदूरपश्चिमको ‘स्टार सिटी’ को लगातार दोस्रो जीत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here