कोरोनाले समृद्ध नरैनापुर निर्माणमा सहयोग (यी हुन् कोरोनाले दिएका ५ उपहार)

बाँके, ४ चैत ।


कोरोनाले विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । कोरोनाले उद्योग, कलकारखाना बन्द भएपछि बेरोजगारी बढेको छ । कोरोनाले थला परेको आर्थिक क्षेत्र अझैँ तंग्रिन सकेको छैन । तर, नरैनापुर गाउँपालिकालाई कोरोनाले धेरै उपहार दिएको छ । कोरोनाले अति प्रभावित भए पनि नरैनापुर विकासका दृष्टिले सम्पन्न भएको छ । अर्को अर्थमा भन्दा कोरोनाले समृद्ध नरैनापुर निर्माणमा सहयोग पुर्याएको छ । यी हुन् कोरोनाले दिएका पाँच उपहारः
उपहार १ः विद्युतिकरण
बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर विकासको दृष्टिकोणले ठूलो फड्को मारेको छ । विद्युतको परिकल्पना समेत गर्न नसकिएको नरैनापुरमा कोरोनाले विद्युत उपहार दिएको छ । कोरोना कहरकै वीच धामपुर शब स्टेशनबाट ११ केभिए लाइन नरैनापुरमा विस्तार गरि गाउँ–गाउँमा पुगेको छ ।
विद्युत नभएका कारण नरैैनापुरका कोरोना संक्रमितलाई नेपालगन्ज, खजुरा र कोहलपुरका आइसोलेशनमा राख्नुपर्ने बाध्यता आएपछि राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, सांसद, नरैनापुर गाउँपालिका प्रमुख लगायतको सक्रियतामा रातारात विद्युतीकरण गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए । उनले कल्पना नगरिएको विद्युत १५ दिनभित्र नरैनापुरमा विस्तार भएको बताए । ‘कोभिड–१९ ले आर्थिक, सांस्कृतिक, सामाजिक असर गरे पनि नरैनापुरलाई विद्युत उपहार दिएर गएको छ,’ उनले भने, ‘हामीलाई लगाउनसम्मको गुण लगाएको छ ।’


उपहार २ः हुलाकी सडक निर्माण
कोरोनाले मृत्यु हुने नरैनापुरका युवक पहिलो थिए । भारतबाट आएर नरैनापुरस्थित एक क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरले चर्चाको शिखर चुमेको थियो । राज्यको ध्यान खिचेको नरैनापुरमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले निर्देशन दियो ।
फलरुवरुप कोभिड–१९ ले नरैनापुरलाई अर्को उपहार सडक दिएको छ । हुलाकी सडक निर्माणको क्रममा रहे पनि कोरोनाको उच्च जोखिममा रहेको उक्त गाउँपालिकाको अन्तिम सीमासम्म हुलाकी राजमार्ग निर्माण पूरा भएको छ । कोरोनाको उच्च जोखिम रहेकै बेला विद्युत र सडक निर्माण सँगसँगै पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।
उनले कोरोना संक्रमितलाई सहज रुपमा नेपालगन्जसम्म ल्याउनुपर्ने भएकोले निर्माण कम्पनीलाई सडक निर्माण पूरा गर्न कोरोनाले दवाव सिर्जना गरेको बताए । उनले भने, ‘सडक र विद्युतिकरण आफ्नो समयमा पूरा हुने थियो, तर कोरोनाले छिटो निर्माण गर्न दवाव दियो । कोरोनाको उच्च जोखिम नभएको भए विद्युतिकरण हुन धेरै समय लाग्ने निश्चित थियो ।’


उपहार ३ः चिकित्सक सँगै १५ शैयाको अस्पताल निर्माण
कोरोनाले बाँकेका सवैभन्दा बढि नरैनापुर प्रभावित भएको थियो । यहाँका एक जनाको मृत्यु भयो । कोरोनाले उक्त गाउँपालिकालाई थिलोथिलो बनाएपछि गाउँपालिका प्रमुख शाहले अव थेग्न नसक्ने भन्दै हात उठाइसकेका थिए । उनले भनेका थिए, ‘म अव यो भन्दा धेरै थेग्न सक्दैन । बाहिरबाट सहयोग नआए म अगाडी बढ्न सक्दैन ।’
तर, नरैनापुरलाई दीर्घकालिन फाइदा पुगेको छ । नरैनापुरका बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पाएका छन् । कोरोना कहरकै वीच चिकित्सक आएर सेवा थालेपछि गाउँपालिकाले २४ सै घण्टा इमरजेन्सी सेवा सुरु गरेको छ । ‘कोरोनाको कहरसँगै विरामी भर्ना गर्ने सुविधा सहित इमरजेन्सी सेवा सुरु गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘कोरोनाले १५ बेडको अस्पतालमा ल्याब र भिडियो एक्स–रे सेवा पनि सुरु भएको छ ।’
कोभिड–१९ को संक्रमणसँगै नरैनापुरले सर्पदंश र आँखा उपचार सेवा पनि सुरु गरेको छ । सर्पदंश उपचारका लागि लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिसहित सेवा सुरु गरेको लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।


उपहार ४ः सरकारको उपस्थितिमा बृद्धि
कोरोनापछि नरैनापुरमा सरकारको उपस्थिती बढेको छ । नेपाली रुपैँयाको प्रयोग नहुने त्यहाँ अहिले नेपाली रुपैँयामा कारोबार हुन थालेको छ । कोरोना संक्रमितहरु नेपालगन्ज र कोहलपुर आउन इन्कार गरि क्वारेन्टाइनबाट भाग्न थालेपछि सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले त्यहाँ नेपाली सेना परिचालन गरेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँगै नेपाली सेनाको एउटा युनिट परिचालन भएपछि त्यहाँ जनताले नेपाली भएको अनुभूती गरे । सरकारी उपस्थिति शुन्य हुँदा यहाँका नागरिकलाई नेपाली जस्तो लाग्दैनथ्यो । सवै निकायका सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, राजनीतिक दलका नेता, कार्यकर्ता, निजामति कर्मचारी लगायतको बाक्लो उपस्थितिले हामीलाई नेपाली भएको महशुस गरायो,’ नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने, कहिलै नआउने सरकारी कर्मचारीको बाक्लो उपस्थितीले सिंगो नरैनापुरलाई फाइदा पुग्यो । हाम्रो लागि कोरोनाले यो पनि एउटा उपहार दियो ।’
उपहार ५ः नेपालभर प्रचार प्रसार
सुगम जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा परिचय बनाएको नरैनापुरलाई कोरोनाले नेपालभर चिनाउने अवसर दिएको छ । सरकारको नजर पुग्न नसकेका कारण ओझेलमा रहेको नरैनापुर कोरोनाका कारण जनजिब्रोमा झुण्डिने गरि चर्चा कमायो ।
यसले सरकारको ध्यान केन्द्रित भयो नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले समेत योजना ल्याएको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए । ‘कोरोनाले नरैनापुरको प्रचार प्रसार गर्न मद्दत गर्यो । कहिलै नाम नसुनेकाले समेत यहाँको बारेमा जान्ने र बुझ्ने मौका पाए,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here