एन्फा प्रेसिडेन्ट लिगः सुदूरपश्चिमको ‘स्टार सिटी’ को लगातार दोस्रो जीत

बाँके, ४ चैत


नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिग अन्तरगत सुदूरपश्चिमको लिग च्याम्पियन स्टार सिटी युवा क्लब (कैलाली) ले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा लगातार दोस्रो जीत निकालेको छ । बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।
स्टारको तर्फबाट कुलदिप कार्कीले पेनाल्टी मार्फत ३८ औँ मिनेटमा गोल गरे । भने सिटीका रुपबहादुर लामाको अर्को गोलले उसलाई २ गोलले अग्रता दिलायो । सैनिकका जिवन गुरुङले ४० औँ मिनेटमा गोल फर्काए । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरि घोषित भए ।
सुदूरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोडेको छ । स्टारले पहिलो खेलमा प्रदेश नं. २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।
स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जीतले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठुलो उपलब्धी भएको बताउँदै ललितले भने, ‘झापाको टोलीलाई हराउन पाउँदा हामी खुसी छौं । झापा नेपाली फुटबलकै बलियो टोली हो । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’
झापाका प्रशिक्षक संजय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए । उनले भने,‘हामीले यस प्रतियोगिताको लागि राम्ररी तयारी पनि पाएनौं । हाम्रो सिनियर खेलाडीले अन्य प्रतियोगिता खेलिरहेका कारण आज समस्या भयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here