बर्दिया, ३ चैत ।
बाघको आक्रमणमा परि मधुवन नगरपालिका–३, बर्दियाकी २८ बर्षिया रेनुका सुनारको २६ फागुन, ०७७ का दिन मृत्यु भयो । कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गयो ।
घटना २६ फागुन दिउँसो १ः५० बजे भएको थियो । खोजतलास गर्ने क्रममा प्रहरीले उनको शव दुवै सामुदायिक वनको सीमामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । योसँगै बाघको आक्रमणमा परि बर्दियामा आठ महिनामा आठ जनाको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
पछिल्लो समय मध्यवर्ती क्षेत्रमा बाघको आतङ्क बढ्दै गएको छ । अघिल्लो साता मात्र राजापुर नगरपालिका कालाबन्जरका ६५ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । कम्मरदेखि तलको भाग खाइसकेको अवस्थामा उनको शव सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, बाघको आक्रमणमा परि १७ पुस, ०७७ मा भुरीगाउँ–चिसापानी सडकखण्ड अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि एक कैलालीकी एक महिलाको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार ति महिलालाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमै ज्यान गएको थियो ।
त्यसैगरि, गेरुवा गाउँपालिका–४, गिडरपुरमा दर्जनौं खसीबाख्रा बाघले आक्रमण गरेर मारेका छन् । मान्छेमाथि आक्रमण गर्ने बाघको खोजी भइरहेको डिएसपी शाहीले बताए । आक्रमण गर्ने बाघलाई हामी नियन्त्रणमा लिने प्रयासमा छौँ,’ उनले भने । प्रहरी नायब उपरीक्षक शाहीले भने ।
स्थानीयमा त्रास, ओहोरदोहोर गर्न समस्या
दिनदहादै सडकमा बाघ निस्कन थालेपछि स्थानीय त्रसित भएका छन् । खाता जैविक मार्ग भएर बाँके राष्ट्रिय निकुञ्जका जनावर भारतको दुदुवा नेशनल पार्कमा र दुदुवा नेशनल पार्कका जनावर बर्दिया राष्ट्रिय निकुञ्जमा ओहोरदोहोर गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।
दैनिकजसो बाघ देखिने र मान्छे माथि आक्रमण गर्न थालेपछि हुलाकी सडक अन्तरगत गुलरिया–राजापुर सडक खण्डको कोठियाघाट सामुदायिक वन क्षेत्रमा आउजाउ गर्दा डर लाग्ने गरेको राजापुर नगरपालिका–९ का राजेश थारुले बताए । उनले ठूला गाडीसँगै मात्र आउजाउ गर्न सकिने अवस्था सिर्जना भएको बताए । बर्दिया र भारतको दुदुवा नेशनल पार्कका जंगली जनावरहरु यहि जंगल भएर ओहोरदोहोर गर्छन्,’ उनले भने ।
बाघ सडकमै आएर बस्ने गरेको ओराली बजारका स्थानीय रामसेवक चौधरीले बताए । उनले पहिलेको तुलनामा जंगली जनावरको संख्या बढेको बताए । रातको समयको त कुरा नगरौँ दिउँसै जंगली जनावर घरछेउमा आउँछन्,’ उनले भने ।
हुलाकीमार्गमा आउजाउ बन्द, जैविक मार्गमा घाँसदाउरा गर्न रोक
बाघले निरन्तर गर्न थालेपछि मधुवन नगरपालिकाले खाता जैविक मार्ग र सामुदायिक वनमा घाँसदाउरा गर्न र बस्तुभाउ चराउन रोक लगाएको छ । बुधबार दिउँसो पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–३ को सम्झना सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय रेनुका सुनारको ज्यान गएपछि नगरपालिकाले जैविक मार्ग र सामुदायिक बनमा घाँसदाउरा गर्न तथा बस्तुभाउ जराउन रोक लगाएको नगर प्रमुख गणेश केसीले बताए ।
गत साउनयता यस सामुदायिक वन क्षेत्रमा मात्रै बाघको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको उनले बताए । ‘वन्यजन्तुबाट जोगाउन सचेतनामुलक कार्यक्रम र जैविक मार्ग र सामुदायिक बनमा घाँसदाउरा गर्न बन्देज लगाएका छौँ,’ उनले भने ।
हुलाकी मार्गको करिब दुई किलोमिटर सडक खण्डमा बेलुकी ६ बजेपछि दुईपांग्रे र मानिसको आउजाउमा कडाइ गरिएको प्रजिअ सुनारले बताए । उनले रातको १० बजेदेखि विहान ६ बजेसम्म आउजाउ बन्द गरिएको जानकारी दिए ।
सामुदायिक बनमा क्यामरा जडान
बाघको आक्रमणमा परि सुनारको ज्यान गएपछि यस क्षेत्रका विभिन्न ठाउँमा क्यामेरा जडान गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उनले खाता जैविक मार्ग र सामुदायिक बन क्षेत्रमा ८ वटा क्यामेरा जडान गरि बाघको पहिचान गर्न थालिएको उनले बताए । ‘बाघको संख्या पत्ता लगाउन क्यामरा जडान गरिएको छ,’ उनले भने । नयाँ पत्रिकाबाट साभार