पहिलो एन्फा प्रेसिडेन्ट लिग फुटवल आज दिउँसोबाट नेपालगन्जमा हुँदै

बाँके, २ चैत ।


पहिलो एन्फा प्रेसिडेन्ट लिग सोमबारदेखि नेपालगन्जमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपालगन्ज रंगशालामा पहिलो पटक प्रतियोगिता हुन लागेको एन्फाका केन्द्रिय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए ।
एन्फाले फुटबलको इतिहासमा पहिलो पटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको उनको भनाई छ । मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ आयोजना गरिएको चित्रकारले बताए । ‘मोफसलको फुटबल विकासमा एन्फा प्रेसिडेन्ट लिगले थप मद्दत गर्ने आशा गरिएको छ,’ उनले भने ।
उनका अनुसार, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीको सहाभागिता रहने आयोजकले जनाएको छ । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरि, प्रदेश १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट), बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदूरपश्चिम प्रदेश च्याम्पियन स्टार सिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्ने एन्फाका केन्द्रिय सदस्य प्रदेशसिंह राठौरले बताए ।
२–१५ चैत, ०७७ सम्म संचालन हुने प्रतियोगिगताका शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगमा भाग लिन पाउने उनले बताए । प्रेसिडेन्ट लिग–२०७७ को विजेताले रु. १० लाख र उपविजेताले रु. पाँच लाख पाउने एन्फाले जनाएको छ ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले रु. ५० हजार पाउने छन् । साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार पाउने केन्द्रिय सदस्य राठौरले जानकारी दिए ।

Previous articleकन्यालाई साक्षर बनाउन डुडुवाद्वारा छोरीको मुद्धती खातामा १० हजार रुपैँया जम्मा
Next articleएन्फा प्रेसिडेन्ट लिगको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here