बाँके, २ चैत ।
सम्बन्धित निकायको अनुमति बेगर बिभिन्न कम्पनीले मनोमानी रुपमा बिद्युत पोलमा विज्ञापन राख्दै आएको बिषय प्रति बासले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
विद्युत पोलमा विज्ञापन पेन्ट गर्नु अथवा झुन्ड्याउनु अघि सम्वन्धित सरोकारवालसँग अनुमति लिनु पर्ने भए पनि अनुमति नलिई नेपालगन्जका हरेकजसो बिद्युत पोलमा विभिन्न रङले विज्ञापन पोतेको पाइएपछि बासले प्राधिकरणको ध्यानाकर्षण गराएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । उनले नेपाल बिद्युत प्राधिकरण, नेपालगन्ज बितरण केन्द्रका प्रमुखलाई भेटेर ज्ञापन पत्र बुझाएका बताए ।
कुनै पनि पोल नछुट्टाई सडक नै कुरूप हुने गरि पोल–पोलमा मनपरी ढंगले विज्ञापन गर्दासमेत प्राधिकरणको ध्यान नगएको प्रति बास गम्भिर भएका ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालका प्रतिष्ठित कम्पनीबाट नै नियमको उल्लङ्घन गरि मनोमानी तवरले विज्ञापन राख्न थालेपछि अन्य व्यवसायिक प्रतिष्ठानले समेत आफ्नो व्यवसायिक विज्ञापन सार्वजनिक स्थानमा राख्ने होडबाजी चल्न सक्ने सम्भावना बढेर गएको बिज्ञप्तीमा भनिएको छ ।
ज्ञापन पत्र बुझेपछि कार्यालय प्रमुख लखन लला मल्लिकले पोलमा केवुलको लाईन तान्ने बाहेक बिज्ञापनका लागि अनुमित दिने कुनै प्रावधान नभएकाले तत्काल अनाधिकृत बिज्ञापन हटाउन सम्बन्धित निकायलाई पत्राचार गरिने प्रतिवद्धता जनाएको शाहले जानकारी दिए ।