बाँके, २ चैत ।
बाँकेबाट संचालन भइरहेका अनलाइन मिडियामा कार्यरत पत्रकार संगठित भएका छन् । अनलाइन पत्रकारितालाई व्यवस्थित तथा अनलाइनको समग्र विकासमा टेवा पुर्याउन बाँकेका अनलाइन पत्रकार संगठित भएको अनलाइन पत्रकार संघ तदर्थ समितिका संयोजक कमल न्यौपानेले बताए ।
सोमबार नेपालगन्जमा भएको अनलाइन मिडियाका प्रकाशक, सम्पादक र प्रतिनिधी लगायतको भेलाले सेतोखरी मिडिया प्रालीका प्रकाशक तथा प्रधानसम्पादक कमल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति समेत गठन गरेको उनले बताए ।
भेलाले सह–संयोजकमा जावेद अन्सारी, सचिवमा रामु ओली, सह–सचिवमा संगीता पाठक (सन्ध्या) र ‘असलाम खाँलाई कोषाध्यक्षमा चयन गरेको न्यौपानेले जानकारी दिए । उनले कार्यसमिति सदस्यमा सुनिता पन्त, प्रेरणा गिरि, भीष्म लोध, दीक्षा विसी चयन भएको बताए ।
तदर्थ समितिको सोमबार नै बसेको पहिलो बैठकले हरेक महिनाको १५ गते नियमित बैठक बस्ने, संघलाई आधिकारिकता दिनका लागि दर्ता प्रक्रियामा लैजाने र नविकरण तथा दर्ता नभएका अनलाइनलाई दर्ता प्रक्रियामा लैजान सहयोग गर्ने न्यौपानेको भनाई छ ।
बैठकले संघको सल्लाहकार समितिमा रूद्र सुवेदी, प्रेम केसी, शंकरप्रसाद खनाल, विश्वराज पछल्डङ्या र डक्ट धिताललाई मनोनित गर्न सिफारिस गरेको छ । आगामी बैठकले सल्लाहकार समितिका पदाधिकारीको मनोनय हुने उनले स्पष्ट पारे ।