बाँके, १६ फागुन ।
नेपालगन्जस्थित भेरी अस्पताल दिन प्रतिदिन प्रविधियुक्त बन्दै गएको छ । अस्पताल विकास समितिमा प्रमोद धिताल अध्यक्ष र कृष्णप्रसाद श्रेष्ठ, सरस्वती मल्ल तथा धनिराम ओली सदस्यमा नियुक्त भएर आएपछि भेरी अस्पतालले गति लिएको हो ।
अध्यक्ष धितालको पहलमा एमआरआई मेसिन खरिदका लागि बजेट विनियोजन भएको छ । एमआरआइ मेसिन खरिदका लागि अर्थ मन्त्रालयले २५ करोड रुपैँया प्रदान गरेको अस्पतालका अध्यक्ष धितालले जानकारी दिए । ‘विनियोजित बजेटबाट छिट्टै मेसिन खरिद गरि सेवा सुरु गर्छौँ,’ उनले भने । एमआरआई मेसिन नहुँदा यहाँका विरामीले बाहिरको अस्पतालमा महंगो शुल्क तिर्न बाध्य छन् ।
उनले भेरी अस्पताललाई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नमुना अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको बताए । आवश्यकता अनुसारका सवै उपकरण खरिद गर्दै जाने उनले बताए ।
भेरी अस्पताललाई मिर्गौला रोगका विरामीको उपचार केन्द्र बनाउने उनले बताए । उनले डायलासिसका लागि थप दुई वटा मेसिन खरिद भइसकेको बताउँदै उनले नयाँ भवन निर्माण पूरा हुनासाथ भेरी अस्पतालाई मिर्गौला रोगको केन्द्र बनाइने बताए ।
कोभिड–१९ ले अस्पतालको सेवा र प्रविधि थप्न मद्दत मिलेको बताउँदै उनले हरेक बेडमा अक्सिजन जडान भएको जानकारी दिए । ‘कोभिड–१९ ले अस्पताललाई भेन्टिलेटर र अन्य उपकरण उपहार दिएको छ । यसले अस्पतालको सेवामा थप मद्दत गरेको छ,’ उनले भने ।
९२ बर्ष पूरानो भेरी अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउन प्रक्रिया अगाडी बढिसकेको उनको भनाई छ । उनले भने, ‘पश्चिम नेपालको नमुना अस्पताल बनाउने मेरो योजना छ । यहाँ आएका विरामीलाई रेफर गर्न नपरोस् ।’
भेरी अस्पतालमा साविक मध्यपश्चिम र सुदूरपश्चिमका विरामीले उपचार सेवा लिँदै आएका छन् । भने, दाङस्थित राप्ती अस्पताल, उपक्षेत्रीय अस्पताल घोराही, सुर्खेतस्थित क्षेत्रीय अस्पताल र कैलालीको धनगढीस्थित सेती अस्पतालले समेत विरामीलाई रेफर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
उनले अस्पतालमा मुटु, मिर्गौला, सिकलसेल र मस्तिष्क लगायत रोगको उपचार हुने गरेको छ । भेरी अस्पतालमा आइसियू, एनआइसियू, भिडियो एक्स–रे, कार्डियोग्राफी लगायतका सुविधा पनि छ । भने, प्रायःसवै रोगका विशेषज्ञ चिकित्सक पनि रहेको डा. थापाले बताए । ‘अति संवेदनशील विरामीको उपचार पनि भेरीमै हुँदै आएको छ,’ उनले भने ।
भेरी अस्पतालमा थ्रोट स्वाब परीक्षणका लागि प्रयोग हुने अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन जडान भएको छ । कोरोना परीक्षणलाई छिटोछरितो बनाउन अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिन जडान गरि सेवा दिइरहेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।
उनले अटोमेटेड मेसिन जडान भएपछि रिपोर्ट छिटो आउने भएको छ । उनले एक घण्टामै आरएनए एक्स्ट्रयाक्सन गर्न सकिने भएको बताए । एक्स्ट्रयाक्सन पछि पीसीआर मेसिनमा राखेको दुईघण्टामै रिपोर्ट आउने गरेको उनको भनाई छ । उनले आवश्यकता अनुसार थप उपकरण खरिद र जनशक्ति थप्दै जाने प्रतिवद्धता जनाए ।