बाँके, १४ फागुन ।
धर्मगुरु खलिफा नूर अहमद शाहको सम्झनामा डेढ सय बर्षदेखि नियमित रुपमा लाग्दै आएको मेलामा यस बर्ष पनि सर्वसाधारणको घुइँचो लागेको छ । नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरको मियाँपुर्वामा रहेको हजरत खलिफा नूर अहमद शाहको मजारमा चलेको मेलामा मंगलवार पनि सर्वसाधारणको घुइँचो लागेको छ ।
१८ वर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ । मेलाको पहिलो दिन रात १० बजे गुस्ल, दोस्रो दिन विहान १० बजे कुल, दोस्रो दिन राति ७–१० बजेसम्म गागरसंगै कवाली र राति १० बजेदेखि भारतीय कलाकारहरुको साथ नतिया मुशायरा लगायतका कार्यक्रम गरिएको छ ।
मेलामा सामूहिक भण्डारा, प्रार्थना, कवाली, नाँच तथा जादु खेल लगायत आयोजना हुँदै आएको छ । मेलामा बाँके, बर्दिया लगायत छिमेकी मुलुक भारतको बहराइच, श्रावस्ती, गोण्डा, बलरामपुर लगायत उत्तरप्रदेश तथा गुजरातबाट समेत दर्शालुहरु आउने गरेका नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए । ‘यो मेलामा सबै धर्ममा आस्था राख्नेहरु आएर रमाइलो गरि धार्मिक तथा सामाजिक सद्भाव बाँड्छन्,’ उनले भने ।
खलिफा नूर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल गर्नेेहरुको मेलामा भीड लाग्ने गरेको उनको भनाई छ ।
