बाँके, १२ फागुन ।
नेपालगन्ज रंगशाला भित्र रहेको पौडी पोखरी (स्विमिङ पुल) १४ फागुनबाट परीक्षण हुने भएको छ । २५ फागुनदेखि संचालन गर्र्ने तयारी स्वरुप १४ फागुनबाट परीक्षण सुरु गरिन लागेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।
उनले स्विमिङ पुल संचालनका लागि तयारी अन्तिम चरणमा पुगेको बताउँदै २५ फागुनदेखि स्विमिङ पुल संचालनका लागि १४ गतेदेखि परीक्षण गर्न लागिएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले २५ फागुनमा उद्घाटन गरेपछि विधिवत रुपमा संचालन हुने उनले बताए ।
स्विमिङ पुल संचालन हुनै लाग्दा कोरोनाका कारण लकडाउन भएपछि स्थगित भएको थियो । पुल संचालनका लागि आवश्यक कर्मचारी र सामग्री ब्यवस्थापन भइसकेको कार्यालय प्रमुख चन्दले बताए । ‘पानी भर्ने, सफा गर्ने र अवलोकनका लागि सिसि टिभी जडान भइसकेको छ । आपतकालिन उद्धार र अन्य सहयोगका लागि जनशक्ति तयारी अवस्थामा राखिएको छ,’ उनले भने ।
नेपालगन्ज रंगशालाको स्विमिङ पुल विहान, दिउँसो र बेलुका गरि दिनमा तीन सिफ्ट संचालन हुने उनले बताए । सवैलाई पायक पर्ने गरि समय निर्धारण गरिएको उनको भनाई छ । महिलाका लागि विशेष ब्यवस्था खेलकुद विकास समितिले गरेको छ । ‘हप्तामा एक दिन (सोमवार) एक सिफ्ट महिलाका लागि मात्र छुट्याइएको छ,’ कार्यालय प्रमुख चन्दले भने ।
उनले एक सिफ्टमा एक सय ५० जनाले पौडि खेल्न सक्ने बताए । दिनमा झण्डै पाँचसय जनालाई पौडि खेल्ने बातावरण मिलाउने योजना रहेको चन्दको भनाई छ । नेपालगन्जमा अति गर्मी हुने भएकोले यो पौडि पोखरीले राहत दिने आशा गरिएको उनले बताए ।