समाजसेवालाई ‘मियो’ बनाएकी मनकारी चन्द्रकलाः स्वास्थ्य शिविरदेखि असहाय बालबालिकालाई कपडा र पिउने पानी प्रदान

बाँके, ९ फागुन ।


दवाब, अभाव र पीडा भोग्नेले नै बास्तविक जीवन भोगेको हुन्छ । उसले नै बास्तविक जीवन बुझेको र देखेको हुन्छ । जसले मानवबाट हेय, भेदभाव र पीडा खेपेको हुन्छ त्यो अर्काको सेवामा समर्पित हुन्छ पनि । आफ्नो जीवन भोगाईलाई आत्मसाथ गरि सामाजिक कार्यमा लाग्नेहरु नै समाजसेवाको शिखरमा पुग्न सक्छन् । निस्वार्थ भावले समाजसेवा गर्नेहरु नै बास्तविक समाजसेवी हुन सक्छन् । त्यसैले त स्वास्थ्य स्वयमसेविका मार्फत समाजसेवामा समर्पित चन्द्रकला विक बढैया गाउँपालिका–३ को वडा सदस्यमा निर्वाचित भइन् । सामाजिक कार्यमा देखाएको सक्रियता र क्रियाशिलताले उनी गाउँ कार्यपालिका सदस्य पनि हुन् सफल भइन् ।
जातिय विभेद विरुद्धको अभियानमा खरो रुपमा लाग्ने उनी विपन्न तथा सिमान्तकृत समुदायको उत्थानमा दिलोज्यान लगाउँछिन् । समाजसेवालाई ‘मियो’ बनाएकी उनले स्वास्थ्य स्वयम्सेविकालाई आर्थिक उपार्जनसँग नभई सामाजिक कार्यका रुपमा हेर्दै आएकी छन् । उनी आफ्नो वडाका मात्र नभई समस्यामा परेका अन्य वडाका गरिव र असहायलाई समेत सहयोग गर्छिन् । ‘मैले जितेको वडाका मात्र मान्छे होइनन् । समाजसेवा गर्नेका लागि अन्य वडाका सर्वसाधारण पनि मेरो वडाका जस्तै मानव हुन् । जहाँ समस्या परेको देख्छु त्यहाँ मैले सेवा गर्छु,’ उनले भनिन् ।
उनले मानवले मात्र मानवको सेवा गर्न सक्ने बताउँदै मानविय सेवा नै परम धर्म भएको बताउँछिन् । ‘मानवले मानवको सेवा गर्न नसक्ने हो भने मानव भएर जन्मिनुको कुनै अर्थ रहदैन,’ उनले भनिन्, ‘मानवको पहिलो धर्म नै मानविय सेवा हो । मानविय सेवा नै मेरो पहिलो कर्तब्य हो ।’


गाउँपालिकाको बजेटको सहि सदुपयोग गर्न तल्लिन हुन्छिन् । गाउँपालिकाको बजेट पुग्न नसकेको ठाउँमा दाता खोजेर पूर्ति गर्छिन् । आफूले पाएको पारिश्रमिकबाट उनले श्री सरस्वती प्रावि सोरहवा, बर्दियालाई ८ वटा पंखा प्रदान गरिन् । भने, श्री भवानी प्रावि, भवानीपुरका ५० जना शारिरिक अशक्त बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरेको उनले बताइन् ।
शिक्षाले मात्र समाज रुपान्तरण हुने बुझेकी चन्द्रकलाले श्री भवानी मावि सिम्राका ८० जना गरिव तथा असहाय बालबालिकालाई न्यानो कपडा र विद्यालयलाई दुई वटा पंखा प्रदान गरेको उनले जानकारी दिइन् । ‘कक्षा कोठामा पंखा नभएर विद्यार्थीको पठनपाठनमा समस्या भएको देखेपछि दाताको सहयोगमा ८ वटा पंखा र लक्षित समुदायका ५० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेँ,’ उनले भनिन्, ‘मानविय धर्म सम्झेर खानेपानी समस्या भएका विद्यालयमा हेन्डपम्प समेत जडान गरेको छु ।’


उनले नेपाल डेभलपमेन्ट नामक संस्थासँग समन्वय गरि चार वटा विद्यालयमा एक लाख मूल्य बराबरको ११ वटा हेण्डपम्प जडान गरेको बताइन् । ‘पैँसा भन्दा निस्वार्थ भावले समाजसेवा गर्न पाउँदा मलाई आनन्द आउँछ,’ चन्द्रकलाले भनिन्, ‘पैँसा त एकछिनको पाहुना हो । एकछिन आउँछ । छिनभरमै जान्छ । तर, जनताको सेवा गर्न पाउँदा खुशी अनुभूती हुन्छ ।’
हुने विरुवाको चिल्लो पात भने झैँ सानै उमेरदेखि उनको झुकाव समाजसेवामा थियो । त्यसैले उनले तन, मन र धन सामाजिक कार्यमा लगाउँछिन् । उनले प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा स्वास्थ्य शिविर आयोजना गरिन् । नेपालगन्जबाट विशेषज्ञ चिकित्सकलाई त्यहाँ लगेर ३६४ जनाको निशुल्क स्वास्थ्य जाँच गराइन् । र, औषधि पनि निशुल्क वितरण गरिन् । ‘स्वास्थ्य शिविरमा आएर स्वास्थ्य जाँच गराएकाहरुको अनुहार हँसिलो देखेपछि मेरो मन प्रफुल्ल भयो । सुख, शान्ति, खुसी पैँसाले नभई सामाजिक कार्यबाट मात्र पाउन सकिन्न भन्ने त्यतिबेला मलाई लाग्यो,’ उनले भनिन्, ‘पैँसाले क्षणिक आनन्द दिन सक्ला तर, सामाजिक कार्यले जीवनभर खुसी र आनन्द दिन सक्छ ।’


उनले पैँसाका लागि नभई समाजसेवाको भावले स्वास्थ्य स्वयम्सेविका भएको बताइन् । ‘पैँसा कमाउने उद्देश्य भएको भए म ब्यापार, ब्यवसाय गर्न सक्थेँ, तर मलाई पैँसा भन्दा समाजसेवा प्यारो लाग्यो । अनि स्वयमसेविकालाई समाजसेवाको रुपमा प्रयोग गरेँ,’ पैँसा कमाउन नसके पनि दुख परेको बेला साथ दिने र मरेपछि घाटसम्म जाने मलामी कमाएको छु,’ उनले थपिन्, ‘पैँसाले एकदिनका लागि मान्छे कमाउन सकिएला तर, घाटसम्म जाने मलामी कमाउन सकिदैन ।’
उनले समाजसेवा गर्नेसँग पैँसाको कमी भए पनि सहयोगीको कमी नहुने धारणा राखिन् । ‘धनको रासमा सुत्नेले पनि मर्दा सवै छोडेर जानु पर्छ । मान्छेलाई पैँसा चाहिन्छ, तर सवैथोक पैँसा होइन,’ चन्द्रकलाले स्पष्ट पार्दै थपिन्, ‘मैले राजनीतिलाई पनि समाजसेवाको रुपमा लिएको छु ।’

Previous articleभेरी अस्पतालमा आँखा उपचार सुरु
Next articleस्थापना दिवसमा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here